• २३ पुस २०८२, बुधबार

मौरीपालनबाट मासिक एक लाख

blog

बुटवल समाचारदाता

बुटवल, पुस २२ गते । सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण रुपन्देहीको सैनामैना नगरपालिका–८, रामापुरको अधिकारी परिवार बनेको छ । २०५७ सालमा फर्सुराम अधिकारीले एक घारबाट सुरु गरेको मौरीपालन अहिले पाँच सय घारमा पुगेको छ भने मौरीपालनबाटै मासिक एक लाख आम्दानी गर्न अधिकारी परिवार सफल भएको छ । 

मौरीपालनमा लागेको करिब २५ वर्षसम्म आइपुग्दा उहाँ अहिले वार्षिक १० टन मह उत्पादन गर्नुहुन्छ । उहाँले रामापुर मौरी स्रोत केन्द्र स्थापना गरी आफ्नो उत्पादन श्रीराम मह बजारमा बिक्री गर्दै आउनुभएको छ । उहाँहरूले उत्पादन गरेको श्रीराम मह देशका धेरै जिल्लामा पुग्ने गरेको छ । फर्सुरामसँगै उहाँका छोरा कविराज अधिकारी पनि विगत आठ वर्षदेखि मौरीपालनमै जोडिनुभएको छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीलाई बुटवल र भैरहवाका राम्रा कलेजबाट शिक्षणका लागि अवसर नआएको होइन तर उहाँले बुबवले सुरु गरेको मौरीपालनमै रमाउने निधो गर्नुभयो । 

अहिले मौरीपालनको सबै व्यवस्थापनको काम छोरा कविराजले गर्दै आउनुभएको छ । मौरीपालनमा राम्रो आम्दानी हुन थालेपछि फर्सुरामसँगै उहाँका श्रीमती, छोरा कविराज र बुहारीसमेत मौरीपालनमा जोडिनुभएको छ ।   

त्यसो त मौरीपालन गर्दैगर्दा कविराजलाई विदेश जाने रहरसमेत नलागेको होइन । प्रयास पनि गर्नुभयो तर विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा आफ्नै घरमा बुवाले गर्दै आएको मौरीपालनलाई विस्तार गर्ने सोच आएको उहाँले बताउनुभयो । मेहनत गरे मौरीपालनबाट पनि नेपालमै राम्रो आम्दानी गर्न सकिने भएकाले उहाँले अरूलाई पनि मौरीपालनमा जोडिन आग्रह गर्नुहुन्छ । 

कविराज भन्नुहुन्छ, “पहिले हामीलाई गाउँको गरिब परिवार भनेर चिन्थे तर निरन्तर मेहनत गर्दा अहिले महिनाको एक लाख रुपियाँ कमाउन अरूको मुख ताक्नु पर्दैन, विदेश गएर अरूको देशमा पसिना बगाउन जानु पर्दैन ।” कहिलेकाहीँ बजारमा राम्रो महलाई पनि नक्कली मह हो कि भनेर शङ्का गर्दा आफूहरूलाई खल्लो लाग्ने गरेको बताउँदै कविराजले अब सरकारले सक्कली र नक्कली मह छुट्याएर ब्रान्डिङ गरिदिए मौरीपालनप्रति अझै आकर्षित भएर लाग्न प्रेरणा मिल्ने बताउनुहुन्छ । 

मह बिक्री मात्रै होइन, अधिकारी परिवारले अहिले मौरीपालन गर्न चाहने कृषकलाई मौरीका घार बेचेर मौरीपालनमा आकर्षित गर्दै आउनुभएको छ । 

सानो पुँजी भएकाले मौरीपालन सुरु गरेर राम्रो आम्दानी लिन सकिने भएकाले कविराज स्वदेशमै आत्मनिर्भर बन्ने हो भने मौरीपालनमा जोडिन आग्रह गर्नुहुन्छ ।  सुरुमा १५ हजारमा एक घार मौरी किनेर मौरीपालन गर्न सकिने भएकाले यसमा सानो सानो कम पुँजी भएका परिवार जोडिन सक्ने उहाँको भनाइ छ ।