गोरखापत्र समाचारदाता
ललितपुर, पुस २२ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा पार्टीतर्फबाट हुने उम्मेदवार, अन्य दलसँगको सहकार्यसहितका विषयमा विमर्श आरम्भ गरेको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल भएको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा प्रमुख दलकै नेतृत्व तहमा छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग सहकार्य र तालमेल गर्ने विषयमा छलफल भइरहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभार भएका दलसँग संवाद भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने र निर्णय गर्ने तयारी भइरहेको छ ।”
केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पनि बस्ने छ । सोमबारको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र नेताहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, डा. मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, अमरसिंह पुन र वीरबहादुर बलायरले बोल्नुभयो ।
नियमित महाधिवेशनमा जुट्न परिपत्र
कांग्रेसले प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा कार्यसमितिलाई परिपत्र गर्दै पार्टीको १५ औँ महाधिवेशनको सबै तहको कार्यतालिका र २०८३ वैशाख २८, २९, ३० र ३१ गते १५ औँ महाधिवेशन हुने भएकाले त्यसमा जुट्न निर्देशन दिएको छ ।
पत्रमा पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको र सोहीबमोजिम क्रियाशील सदस्यता नवीकरण र वितरण गरी पठाउन र निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।
पत्रमा मङ्सिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख छ । साथै विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गतेदेखि नै स्वतः समाप्त भएको दाबी गरिएको छ ।
विशेष महाधिवेशन पक्षधरको ध्यानाकर्षण
नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पत्र बुझाउँदै विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् । नेता देवराज चालिसेका अनुसार दुई हजार ४८८ महाधिवेशन प्रतिनिधि अर्थात् ५४.५८ प्रतिशतको हस्ताक्षरसहित असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेको र सोही अनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन आह्वान गर्न माग गरिएको छ । उहाँले पुस ११ गते स्मरणपत्र बुझाएको बताउँदै ‘विशेष अधिवेशनको औचित्य नरहेको’ एकतर्फी निर्णय विधानविपरीत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “९० दिन अर्थात् पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नै पर्छ । यो व्यवस्था कसैको रहर वा छनोटको विषय होइन । पार्टी विधानको धारा १७ (२) को यो बाध्यकारी व्यवस्था हो ।”
पाँच प्रदेश सभापतिको अपिल
कांग्रेसका पाँच प्रदेश सभापतिले नियमित महाधिवेशनमा जुट्न आग्रह गर्नुभएको छ । कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्तिमार्फत पुस २६ देखि २८ गतेका लागि निर्धारित १५ औँ महाधिवेशन हुन नसकेको र २०८३ वैशाख २८ देखि ३१ गतेका लागि १५ औँ महाधिवेशन तयारीमा जुट्न आग्रह गर्नुभएको हो । उहाँहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताउँदै अब प्रतिनिधि सभा निर्वाचनमा जुट्न आग्रह गर्नुभएको छ ।