• २३ पुस २०८२, बुधबार

यमनका पक्षबिच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

blog

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान ।

अङ्कारा, पुस २१ गते । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षबिच संवाद  गर्न आफ्नो देश तयार रहेको बताउनु भएको छ । साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर्दोगानले यमनमा विद्रोही समूहलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्ट पार्नु भएको छ । 

टर्कीएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो । एर्दोगानले यमनमा विकसित हुँदै गएको अवस्थालाई टर्कीएले नजिकबाट अनुगमन गरिरहेको बताउँदै देशको भौगोलिक अखण्डता संरक्षण गर्नु शान्ति स्थापनाको आधार भएकोमा जोड दिनु भएको छ । सन् २०१४ देखि यमन गहिरो द्वन्द्वमा फसेको छ । सो वर्ष विद्रोही हुथी समूहले राजधानी साना सहित उत्तरका व्यापक क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको दक्षिणी ट्रान्जिसनल काउन्सिलले दक्षिणी यमनका लागि आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ । सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनमा सामेल भई यमनको राष्ट्रपति नेतृत्व परिषदमा समावेश भए पनि शक्ति बाँडफाँड र स्रोत नियन्त्रणका विषयमा जारी विवादका कारण दक्षिणी सार्वभौमिकताको माग निरन्तर उठिरहेकै छ । रासस/सिन्ह्वा