• २३ पुस २०८२, बुधबार

नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम

blog

जिल्ला निर्वाचन कार्यालय नवलपुर ।

बोमलाल गिरी

नवलपुर, पुस २१ गते । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् ।

कुल मतदातामध्ये पुरुष एक लाख २९ हजार ५४ र महिला एक लाख ३९ हजार ४६८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ४ जना यौनिक अल्पसंख्यक मतदाता रहेका छन् । 

८ वटा स्थानीय तह रहेको नवलपुरमा दुई निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा कावासोती, गैंडाकोट, देवचुली नगरपालिका र बुलिङटार गाउँपालिका पर्छन् । क्षेत्र २ मा कावासोती नगरपालिकाका वडा ३, ४, १५, १६ र १७, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बौदिकाली र हुप्सेकोट गाउँपालिका पर्छन् ।

आचार्यका अनुसार क्षेत्र १ को कावासोतीमा ३३ हजार ७ सय १०, गैडाकोटमा ५० हजार ९ सय ५०, देवचुलीमा ३९ हजार ६ सय ७७ र बुलिङ्गटारमा १२ हजार ७ सय ४४ गरी एक लाख ३७ हजार ८१ जना मतदाता रहेका छन् ।

त्यसैगरी क्षेत्र २ को कावासोतीमा २६ हजार ८ सय ६५, मध्यविन्दुमा ४७ हजार १ सय ६४, बौदिकालीमा १० हजार ९ सय ७५, विनयी त्रिवेणीमा २७ हजार १ सय ४७ र हुप्सेकोटमा १९ हजार २ सय ९४ जना गरी १ लाख ३१ हजार ४ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

नवलपुरमा २०७९ मा भएको निर्वाचनमा २ लाख ६० हजार ४ सय ६१ मतदाता थिए । यसैबिच जिल्लाभर तीनसय ११ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो निर्वाचनमा जिल्लामा तीनसय २ वटा मतदान केन्द्र रहेका थिए । 

निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको बताउँदै जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद शर्मा भुसालले शान्त, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार तथा व्यवस्थापन मिलाइँदैगएको बताउनुभयो ।