काठमाडाैँ, पुस २१ गते । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
जेनजी सहीद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनु भयो । त्यसैगरी बैठकले घनश्याम पराजुलीलाई उपमहालेखा परीक्षक पदमा बढुवा गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा पनि गरिएको छ ।
समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको पनि मन्त्री खरेलले बताउनु भयो । मन्त्री परिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबिच हुने समझदारी पत्र, नेपाल सरकार र इजरायल सरकारबिच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली २०८२ पनि बैठकले स्वीकृत गरेको मन्त्री खरेलले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ । जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।"
यस्तै, उहाँले नेपाल सरकार र ओमान सरकारबिच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनु भयाे । उहाँले भन्नु भयाे, "नेपाल सरकार र इजरायल सरकारबिच हुने श्रम सम्झौता स्विकृत गर्ने निर्णय भएको छ । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ स्वीकृत गरिएको छ । वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । नेपाल लेखा परीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गरिएको छ ।"
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ ।