सिँजा समाचारदाता
सिँजा (जुम्ला), पुस २१ गते । जुम्लाका नागरिकले विकासनिर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पु¥याउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिन्छ ।
जिल्लाको वास्तविक समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने व्यक्तिलाई मतदान गर्ने जुम्ला गुठीचौर–५ का रमेश देवकोटाले बताउनुभयो । जिल्लामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि जस्ता आधारभूत क्षेत्रमा अझै पनि पर्याप्त सुधार हुन सकेको छैन । नागरिकले अब भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतालाई भोट हाल्ने उहाँको भनाइ छ । पातारासी गाउँपालिका–४ का मोतीराम बुढाले स्थानीय तहदेखि प्रदेश र सङ्घीय तहसम्म विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा जुम्लावासीले लामो समयदेखि समस्या भोग्दै आएको गुनासो गर्नुभयो । त्यसैले संसद्मा पुगेर जिल्लाको विकासका लागि बजेट सुनिश्चित गर्ने, नीति निर्माणमा सक्रिय भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने जनप्रतिनिधि आवश्यक रहेको उहाँको भनाइ छ । विकासनिर्माणका काममा पारदर्शिता, जवाफदेहिता र इमानदारिता देखाउने प्रतिनिधिप्रति जनताको भरोसा रहने उहाँले बताउनुभयो ।
यस पटकको निर्वाचनमा जात, पार्टी वा व्यक्तिगत सम्बन्धभन्दामाथि उठेर कामका आधारमा मतदान गर्ने सोच बढ्दै गएको बुढाको भनाइ छ । जुम्लाका विभिन्न क्षेत्रका नागरिकले अब परिवर्तन व्यवहारमा देखिनुपर्ने समय आएको बताएका छन् । युवालाई रोजगारी, किसानलाई उत्पादन र बजार, बिरामीलाई समयमै उपचार र विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रतिनिधिलाई समर्थन गर्ने उहाँले बताउनुभयो । पातारासी गाउँपालिकाको लुमकी चुट्कला कामीले हरेक चुनावमा उम्मेदवारसँगै मत माग्ने काममा संलग्न हुँदै आउनुभएको छ । यस पटक उहाँको अनुहारमा चमक छैन । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकेको छ । जुम्लाका गाउँबस्तीमा भने चुनावी रौनक देखिएको छैन । अधिकांश मतदाता व्यापारका सिलसिलामा जिल्लाबाहिर रहेका छन् । जिल्लाभित्र रहेका पनि चुनाव आएकोमा खुसी छैनन् ।