धनगढी समाचारदाता
धनगढी, पुस २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८) को मसौदा अवधारणापत्रमाथि छलफल गर्दै उहाँले उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्दै जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखेर योजना अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । “प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति तथा परिणाममुखी कार्यक्रम अपरिहार्य छ,” उहाँले भन्नुभयो ।
सबै क्षेत्रको विकास एकै पटक सम्भव नरहेकाले स्रोतसाधन र क्षमताको उचित व्यवस्थापन र प्राथमिकताका आधारमा विकास प्रक्रियालाई गतिशील बनाउनुपर्ने मुख्यमन्त्रीको जोड छ । विकास योजनाको सफल कार्यान्वयनका लागि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाउन आवश्यक रहेको उहाँले औँल्याउनुभयो । शाहले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकार्य, निजी क्षेत्रको सहभागिता र जनताको सक्रिय योगदानले मात्र दीर्घकालीन विकासको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पार्नुभयो ।
दीर्घकालीन विकासका लागि आधार तयार, भविष्यका योजनाका लागि मार्गदर्शन प्रदान गर्ने उद्देश्यले प्रदेश नीति तथा योजना आयोगले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आयोगका उपाध्यक्ष डा. जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मसौदामाथि प्रकाश पार्नुभएको थियो । यसै गरी मसौदा निर्माणका टिम लिडर डा. हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम, मुख्य सचिव वैकुण्ठप्रसाद अर्याललगायतले आआफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरण, कृषि, पशुपालन र ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग, उद्यमशीलता र रोजगारी, मानवकेन्द्रित, परिणाममुखी योजनाका विषयमा कुरा राख्नुभएको थियो । यसै गरी पर्यटन विकास, गन्तव्य प्रवर्धन, शिक्षा सुधार, सीप विकास र अनुसन्धान प्रवर्धन, स्वास्थ्य सेवा विस्तार र मानव विकास सृदृढीकरणलगायतका विषयमा चर्चा गर्नुभएको थियो ।