• २० पुस २०८२, आइतबार

विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै

blog

सान फ्रान्सिस्को, पुस १९ गते । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब आठ दशमलव छ प्रतिशतले घटेको शुक्रबार जनाएको छ । यससँगै वार्षिक विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको छ ।

कम्पनीका तथ्यांकअनुसार टेस्लाले सन् २०२५ मा करिब सोह्र लाख पचपन्न हजार विद्युतीय सवारी उत्पादन गरेको थियो भने करिब सोह्र लाख छत्तीस हजार सवारी डेलिभर गरेको थियो । सन् २०२४ मा भने कम्पनीले करिब सत्र लाख त्रिहत्तर हजार सवारी उत्पादन र सत्र लाख उनान्नब्बे हजार सवारी डेलिभर गरेको थियो ।

अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्लाको बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ । सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब चार लाख चौँतीस हजार सवारी उत्पादन गरेको थियो भने चार लाख अठार हजारभन्दा बढी सवारी डेलिभर गरेको थियो । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सोह्र प्रतिशतले कम हो ।

यसैबिच, चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब बाइस लाख सत्तावन्न हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब सत्ताइस दशमलव छ प्रतिशतले बढी हो । बीवाईडीका अनुसार चीनबाहिर एशिया, युरोप र ल्याटिन अमेरिका जस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ ।

टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी हो र घरेलु विद्युतीय सवारी बजारको करिब पैँतालीस प्रतिशत हिस्सा ओगटेको छ । तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ । 

अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा चालीस प्रतिशतभन्दा बढीले घटेको थियो । उद्योग विश्लेषकका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ । रासस/सिन्ह्वा