• ८ मंसिर २०८१, शनिबार

असारे सार ससुराली सत्कार

blog

 सारे खलु संसारे सारं श्वसुर मन्दिरम् ।

   हरो हिमालये शेते हरिः शेते महोदधौ ।।

संस्कृतको यस श्लोकमा असारे भनी प्रयोग भएको ‘असार’ महिना होइन सारहीन भन्ने अर्थको हो । सारहीन संसारमा सुखको सार ससुराल हो । त्यसैले त महादेव र विष्णु आआफ्ना ससुराली हिमालय र समुद्रमा आरामसाथ रहेका छन् भन्ने अर्थ हो यसको । 

यसले जीवनमा कर्मभन्दा पनि सुखसयललाई प्राथमिकतामा राखेको छ । मोजमस्ती गर्ने र रमाउने प्रकृति फरक छन् भन्ने पनि यसले देखाउँछ । त्यसैले त हिमालय र समुद्रजस्ता चरम पृथक् विशेषतामा रम्न सकिने सन्देश यसले दिन्छ । मान्छे के कुरामा रम्छ मनोविज्ञान बुझ्न कठिन छ । कोही परोपकारमा रम्छ त कोही परपीडनमा भने कोही स्वपीडनमा । त्यसैले जीवन असार देखिन्छ तर आम बुझाइमा असार महिना हो ।

असार अझै पाँच दिन बाँकी छ । असारका महत्त्व र महिमा धेरै छन् । तिनमा मानो खाएर मुरी उब्जाउने महिना असारको उच्चतम महत्त्व र गरिमा झल्काउने परिचय हो । मानवको जीवन निर्वाहको आधार कृषि रहँदाको यो परिभाषा विशेष महत्त्वको छ । मानिसले अन्न खाँदा कृषि कर्मले महत्त्व पाएको विशेषता चानचुने होइन । अहिले मान्छे अन्न मात्र खाँदैन अरू धेरै थोक खान्छ । खान हुुने खान्छ अनि खान नहुने पनि खान्छ ।

लोकोक्तिअनुसार असारमा खाने मानो हो र उब्जाउने मुरी हो । अहिले मानो र मुरी नै थाहा नपाउने जमात बढ्दो छ । उसो त मानो खाएर मुरी उब्जिने चाहिँ होइन । उब्जाउनका लागि खाने होइन बीउ राख्ने, रोप्ने, मलजल, गोडमेल गर्ने र चोरी वा विनाश होला भनी रेखदेख गर्नुपर्छ । त्यति गरेपछि मात्र मङ्सिरमा मुरी भिœयाउन सकिने हो । 

असारमा रोप्ने भनेको धान हो । धान असारमा मात्र होइन अरू महिनामा पनि रोपिन्छ । असार धानकै लागि हो । असारका दिनमा पनि असार पन्ध्र धान रोपाइँका लागि विशेष पर्व हो । अर्थात् असार १५ गते वा दिन होइन यो जीवन पद्धति हो । यो कहिलेदेखि जीवनपद्धति बन्यो, इतिहास अज्ञात छ तर यस दिनलाई वि.सं. २०६१ देखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । धान दिवस मनाउन थालिएपछि असार पन्ध्रको पर्वको महत्ता घट्दै गएको छ । 

महत्ता घट्दै गएको मात्र होइन, बेलाबेलामा त्यसले विकृत स्वरूप देखाउँदै आएको छ । त्यसको चरम रूप २०७२ को धान दिवसमा तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले धान रोपाइँ कार्यक्रममा एक महिलासँग गरेको अनैतिक कार्य देखिएको थियो । पराजुलीको कृत्य धान रोपाइँभन्दा अन्यत्रै उद्यत थियो । त्यही घटनाका कारण पराजुलीले मन्त्री पद गुमाउनुप-यो । 

सरकारी वा संस्थागत तवरबाट मनाइने धान दिवस विवादमा पर्ने गरेका अरू पनि घटना छन् । पराजुलीको हिले हर्कतलगत्तैको अर्को वर्ष २०७३ को धान दिवसमा सुटमा सजिएका तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेलबाट बन्द कोठामा गमलामा धानको बीउ रोपेर दिवसको उद्घाटन गर्ने काम भयो ।

यस्ता विकृत कार्यको देखासिकी हरेक धान दिवसमा हुन थालेका छन् । हिलो, धान, बीउको अपमान हुने गरी सोफामा विराजमान भएर बीउको माला लगाउनेदेखि हिलो खेल्ने बहानामा अर्धनग्न भएर यौनकुण्ठा तृप्ति गर्ने घटना धान दिवसका नाममा हुने गरेका छन् । माक्र्सवादी दर्शनमा यो सांस्कृतिक विचलन हो तर ती दुवै विचलनका घटनाका लागि माक्र्स (र माओ)लाई नै आदर्श मान्ने दलका मन्त्रीका कृत्य जिम्मेवार छन् ।

असार पन्ध्रजस्तै गाईजात्रा पनि नेपाली पर्व हो, यो साउन/भदौमा पर्छ । नेपाली राजनीतिक वृत्तले गर्ने प्रायः काम जनमानसमा सुपाच्य लाग्दैनन् । किन त्यस्तो हुन्छ भनेर त्यसको मनोविज्ञान बुझ्न नेतृत्व वर्ग तयार हुँदैन । अनि जनबोलीको प्रतिनिधित्व गरेर एक आवाज आउँछ, “नेपालमा गाईजात्राको दिन गाईजात्रा हुँदैन, वर्षका अरू सबै दिन गाईजात्रा हुन्छ ।” अर्थात् यहाँ पनि असार पन्ध्रको जस्तै अर्को पर्व गाईजात्राको महत्ता स्खलित भएको छ ।

त्यसैलाई सङ्केत गर्ने वाक्युद्ध यस पटकको असार १५ कै दिन भयो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १५ कै दिन एउटा कार्यक्रममा “तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको र चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने” दाबी गर्नुभयो । प्रचण्डको भनाइको प्रतिवाद गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता घनश्याम भुसालले सोही दिन “माओवादीको बीउ अब काम नलाग्ने” बताउनुभयो । 

कृषिको नै उदाहरण दिँदै नेता भुसालले भन्नुभएको थियो, “कृषिको कुरा गर्दा हामी रैथाने बीउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैन । त्यसलाई हाइब्रिड बनाउनुपर्छ । माओवादीको बीउ, एमालेको बीउ वा समाजवादीको बीउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौँ । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौँ । बीउ सुरक्षित छन्, यी बीउलाई फेरि हाइब्रिड बनाउनुपर्छ ।” 

यहाँ भुसालले भन्न खोजेको माक्र्सवादी विचार वा दर्शन उन्नत बनाउने भन्ने होला तर भुसालले भनेको ‘हाइब्रिड’को ठेट नेपाली शब्द ठिमाहा हो । प्रज्ञाको शब्दकोशअनुसार ठिमाहाका दुई अर्थ छन् ः “ठिमाहा ः वि. (ठिम्मल+आहा) १. अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको, ठिम्मल, वर्णसङ्कर, २. भिन्नाभिन्नै अन्नका बीउ मिसिएर उम्रिएको वा उब्जिएको (अनाज) नाभो ।” 

यस आधारमा र वाक्युद्धको सन्दर्भमा कृषिको बीउको ठिमाहा प्रयोग राजनीतिमा भयो । त्यसको फल कस्तो लाग्ने हो थाहा छैन । कृषिमा प्रयोग गरिएका कतिपय ‘हाइब्रिड’ बीउले फसल नदिएको गुनासो पक्कै भुसाललाई थाहा छ किनकि उहाँ पनि कृषिमन्त्री भइसक्नुभएको हो । त्यसबेला कृषिमा भएका सफलताका कथा उहाँबाट सुन्न पाइएको छैन । 

२०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक भएर बनेको नेपाल कम्युनिस्ट पार्टी २०७७ फागुन २३ को सर्वोच्चको फैसलाले पूर्ववत् अवस्थामा फर्काइदियो । तिनका कतिपय नेता र कार्यकर्ता भने पूर्ववत् पार्टीमा आएनन् । बरु एकअर्का दलमा रहेर मातृदल र तिनका नेतृत्व वर्गलाई हिलो छ्याप्न लागिरहे । त्यसैको ठिमाहा स्वरूप यो वाक्युद्धमा देखिएको हो ।

असारमा कृषि कर्मका नाममा यस्ता असङ्गत गतिविधि हुने र गैरकृषकले जुँघा मुुसार्ने र पाखुरा सुर्कने काम गर्दा वास्तविक कृषक भने रोइरहेका हुन्छन् । मल, जल र बीउ अभावमा हुने उनीहरूको रुवाइको स्थायी समाधान कुनै पनि वर्ष हुँदैन बरु हरेक वर्ष चर्किएको हुन्छ । फसलको बीमा, क्षतिपूर्ति, भण्डारणको अभाव, कृषिका अनुदान, बजारमा बिचौलियाको मोजमस्ती र त्यसलाई हुने राजनीतिक संरक्षण उनीहरूका घाउमा नुनचुक छर्ने हुन्छन् । 

नेपालमा नै मल कारखाना खोल्ने र मल किसानलाई मात्र दिने नभई निर्यात गर्नेसम्मका भाषण मात्र होइन, बजेट भाषण पनि हुन्छन् । बजेट भाषणमा गरिएको प्रतिबद्धता र विनियोजन कार्यान्वयन हुँदैन । धनधान्यले सुसज्जित बजेट भाषणको त हावा खुस्कन्छ भने अरू भाषणले निमुखा कृषकलाई के देओस् ? 

२०७२ सम्म बजेट असारमा नै ल्याइन्थ्यो । २०७२ असोज ३ गते जारी भएको संविधानले भने जेठ १५ मा नै बजेट ल्याउनुपर्ने व्यवस्था गरेपछि बजेट जेठमा आउन थालेको हो तर संसद्मा ल्याइनुपर्ने बजेट संसद् विघटन गरेर वा छलेर ल्याउने प्रवृत्ति हाबी छ । असारमा बजेट ल्याउन बन्द गर्नुको तर्क बजेटको समयमा नै सदुपयोग गरेर पुँजीगत खर्च बढाउनु थियो । अर्थात् असारका नाममा हुने विकृति यसका लागि जिम्मेवार मानिएको थियो ।

खासमा भन्ने हो भने असारलाई विद्रुप पारेको त असारे विकासले नै हो । जेठमा बजेट ल्याउने संवैधानिक व्यवस्थाले पनि विनियोजित बजेट वर्षका ११ महिनामा खर्च नगरी आर्थिक वर्ष समाप्त हुने असारमा मात्रै जथाभावी खर्च गर्ने प्रवृत्ति रोकेन । झन् गाउँगाउँमा पुगेका सिंहदरबारले गर्न थालेको डोजरे विकास र झार उखेल्ने समृद्धिलाई विकासको नयाँ मोडेल बनाएको छ । 

अहिले पनि विनियोजित खर्च बढाउन ताइँनतुइँका गोष्ठी, सम्मेलन, अध्ययन भ्रमण हुने गरेका छन् । असार सकिन लाग्दा बजेटको रकमान्तर र हिसाब मिलानका लागि दिनरात काम भइरहेका छन् । त्यस्ता धेरै काम अनियमित हुने गरेको महालेखा नियन्त्रकको कार्यालयले औँल्याउँछ तर अगस्तिपान गर्नेहरूलाई त्यसको असर हुँदैन । असारलाई विद्रुप पार्ने यस्तै कार्यले हो तर त्यसो गर्ने अगस्तिहरूलाई होइन, दोष असारलाई दिने गरिएको छ । किनकि हर र हरि मात्र होइन, हर मान्छे ‘असार’ संसारमा ससुरालीमा जस्तो मस्ती खोज्न उद्यत छ ।