प्रेम अधिकारी
पशुपतिनगर(इलाम) पुस १५ गते । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा पूर्वकै चर्चित पर्यटकीय स्थल कन्याममा ५ दिने ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ सुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ १९ गते (३ जनवरी) सम्म स्थानीय खाद्य परिकार र सांस्कृतिक कार्यक्रम सहित पाँच दिन सञ्चालन हुने गरी सुरु भएको हो ।
मंगलबार सूर्योदयका नगर प्रमुख रण बहादुर राईले एक कार्यक्रमकाबिच फेस्टिभलको उद्घाटन गर्नुभयो । उहाँले फेस्टिभलको उद्घाटन गर्दै बाह्ै महिना पर्यटकको भिड लाग्ने कन्याममा पर्यटकलाई थप आर्कषित गर्न फेस्टिवलले सहयोग पुग्ने बताउनुभयो ।
फेस्टिभलमा स्थानीय रैथाने खाद्य परिकार, विभिन्न जातिय संस्कृति झलिक्ने, फूल नर्सरी र कोरियन कल्चरका २५ बढी स्टल राखिएको सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर श्रृजन गदालले जानकारी दिनुभयो । फेस्टिभलमा चिजका परिका मुख्य आर्कषणको रुपमा राखिएको छ ।
स्थानीय स्तरमा उत्पादन भएका दुधका परिकार, तरुलका परिकार, कोदो, फापरका परिकार, वाचिपा सहित कोरीयाबाट आएका प्रतिनिधिले कोरीयन खानाका परिकार फेस्टिभलमा आर्कषणका रुपमा राखेका छन् । फेस्टिवलमा नेवारी सामुदायको लाखे नाँच, तामाङ समुदायको तामाङ सेलो, लोपउन्मुख लाप्चा समुदायको लाप्चा नाँच र नौमती बाजा प्रदर्शन गरीएको थियो ।
कन्याम पर्यटन विकास समितिको मुख्य आयोजना तथा सूर्योदय नगरपालिका, हिमालयन चिज उत्पादक संघ, आदिबासी जनजाती महासंघ समन्वय परिषद सूर्योदय नगर कमिटीको सहकार्य फेस्टिभलमा रहेको छ ।
चार लाख बढी खर्च लाग्ने फेस्टिभलमा ५० हजार बढी पर्यटकले अवलोकन गर्ने कन्याम पर्यटन बिकास समितिका अध्यक्ष डिबि तामाङले जानकारी दिनुभयो । फेस्टिभलमा स्वादेशी, छिमेकी देश भारतका र कोरियन पर्यटकको सहभागिता रहेको छ । अङ्ग्रेजी नयाँ वर्षमा कन्याममा बर्षेनी स्वदेशी र भारतीय पर्यटकको भिड लाग्ने गरेको छ ।
फेस्टिभलमा पाँचै दिन विभिन्न जातजातीका झाकी प्रदर्शन गरिने छ ।