• १५ पुस २०८२, मङ्गलबार

चिसोका कारण बर्दघाटको विद्यालय बन्द

blog

बिकास अधिकारी

पश्चिम नवलपरासी, पुस १५ गते । चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालय बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै शुक्रवारसम्म विद्यालय बन्द रहने जनाएको छ । 

शीतलहर बढ्दै गएका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । आइतबारदेखि अवस्था बुझेर विद्यालय सञ्चालन गरिने उहाँले बताउनुभयो । हालको बिदा वर्षे बिदाबाट मिलान गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

यसअघि प्रतापपुर गाउँपालिकाले पनि दुई दिन चिसोलाई मध्यनजर गर्दै विद्यालय बन्द गरेको थियो । अन्य स्थानीय तहमा भने विद्यालय सञ्चालनमा छन् । चिसोका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । चार दिनदेखि बाक्लो कुहिरो, हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । 

बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । अस्पतालमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामीको चाप बढ्न थालेको छ । अन्य बिरामीको चाप घटेपछि चिसोका कारण सिर्जित स्वास्थ्यसँग सम्बन्धित बिरामीको चाप बढ्दो क्रममा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालले जनाएको छ ।