• १५ पुस २०८२, मङ्गलबार

दुईसय ८३ जनालाई न्यानो कपडा वितरण

blog

विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिदै ।

शंकर केसी

सल्यान, पुस १५ गते । सल्यानका एक समाजसेवीले दुईसय ८३ जनालाई न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो पालिकाभित्रका विपन्न विद्यार्थी र अपाङ्गता भएका ब्यक्तिलाई जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा २ बेतेनिका जनकराज रानाले जाडो यामका लागि न्यानो कपडा सहयोग गर्नुभएको हो । उहाँ हाल अमेरिकामा बस्दै आउनुभएको छ। 

बनगाड कुपिण्डे नगरपालिकाको विभिन्न ठाउँस्थित सात बिद्यालयका दुईसय ६१ जना विद्यार्थी र २२ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडाको सहयोगले बिद्यार्थी सहजरूपमा विद्यालय आउन–जान सक्ने, कक्षामा ध्यान केन्द्रित गर्न सक्ने र विद्यालयमा उपस्थितिको दर बढ्ने अपेक्षासहित सक्दो सहयोग गरेको जनकराजले बताउनुभयो । 

अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरू प्रायजसो समाजको मूलधारबाट पछाडि पारिएको हुने भएकाले यस्ता ब्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण र सम्मानको संस्कार फैलाउन सहयोग तथा संरक्षणको आवश्यकता पर्ने उहाँको भनाइ छ । 

जनकराजले उपलब्ध गराएको न्यानो कपडा आधारभूत बिद्यालय लाहाघाट, जनकल्याण प्रबि राइरा, बासुका प्राबि बेतेनी, भगवती प्राबि बाहुनगाउँ, सामुदायिक बालविकास कारागाउ, आधारभूत विद्यालय थापाचौर र जनता प्राबि डोप्केका विद्यार्थीलाई वितरण गरिएको हो । यस्तै, नगरपालिकाकै लाहाघाट, भर्सिल,  बेतेनी, कारागाउँका अपाङ्गता भएका एवं अशक्त व्यक्तिहरुलाई कपडा सहयोग गरिएको हो ।

जनकराज नेपाली सेनामा सेवा गरेर सेवानिवृत्त भैसकेपछि विगत पाँच बर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । उहाँले थप बिद्यालयमा पनि सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । न्यानो कपडा वितरणमा उहाँका भाइ धिरेन्द्र रानाले सहजीकरण गर्नुभएको थियो ।