• १५ पुस २०८२, मङ्गलबार

सेन्ट्रल गल्फमा राहुलको अग्रता जारी

blog

दोस्रो दिन सट प्रहार गर्दै राहुल विश्वकर्मा ।

काठमाडौँ, पुस १५ गते । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन साविक विजेता एमेच्योर राहुल विश्वकर्माले आफ्नो अग्रता जारी राख्नुभएको छ ।

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मङ्गलबार राहुलले पाँच अन्डर ६७ खेल्दै शीर्षस्थानमा सात स्ट्रोकको अग्रतामा बनाउनुभएको हो ।  ३६ होलको समाप्तिसँगै उहाँको कुल ११ अन्डर एक सय ३३ स्कोर छ ।

दोस्रो स्थानमा रहनुभएका प्रो भुवन कुमार रोक्काको कुल चार अन्डर एक सय ४० स्कोर छ । उहाँले दोस्रो दिन पाँच अन्डर ६७ खेल्नुभयो । यस्तै जयराम श्रेष्ठ कुल एक अन्डर एक सय ४३ स्कोरका साथ तेस्रो स्थानमा हुनुहुन्छ । 

७२ होलको चारदिने प्रतियोगितामा कुल ११ ओभर एक सय ५५ स्कोेरसम्म खेल्ने २४ खेलाडी थप ३६ होलको फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार सम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । शीर्ष १८ मा रहने प्रोलेसमेत नगद पुरस्कार पाउनेछन् ।