हिले समाचारदाता
हिले (धनकुटा), पुस १५ गते । धनकुटाको महालक्ष्मी नगरपालिकाले मध्यमहालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटरमध्ये यो वर्ष पाँच किलोमिटर सडक कालोपत्रे हुने पालिकाले जनाएको छ । यो सडकको अहिले दुई खण्डमा काम भइरहेको छ ।
जितपुरतर्फबाट एक हजार पाँच सय मिटर सडकमा सात मिटर चौडा कालोपत्रे गर्ने गरी तीन करोड ६८ लाख रुपियाँमा ठेक्का लागेर कालोपत्रेको काम भइरहेको पालिकाका असिस्टेन्ट सबइन्जिनियर दिनेश श्रीपालीले जानकारी दिनुभयो । यता पालिकाकै कटहरेदेखि पाँच किलोमिटर सडक सात करोड ७५ लाख रुपियाँमा ठेक्का लागेर काम अघि बढिरहेको पालिकाका इन्जिनियर दिवस पौडेलले जानकारी दिनुभयो । यो खण्डसमेत यही आर्थिक वर्षभित्रै कालोपत्रे सक्ने गरी काम अघि बढिरहेको छ ।
यो सडक सङ्घीय सरकार र पालिकाको लगानीमा निर्माण हुन लागेको हो । सडक पालिकाको मुख्य मार्गका रूपमा रहेकाले प्राथमिकताका साथ काम भइरहेको नगरप्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो । पालिकाका वडा नम्बर १, २, ३, ४ का जनतालाई पालिका आउन सबैभन्दा सहज मार्ग हो । त्यस्तै ७ र ८ वडालाई समेत छुने र पालिकाले वडा नम्बर १ मा निर्माण गर्न लागेको औद्योगिक ग्राम र शीतभण्डारको पहुँचमार्गका रूपमा समेत रहेकाले यो सडकलाई प्राथमिकताका साथ हेरिएको प्रमुख रायको भनाइ छ । त्यस्तै यही वर्ष जितपुरतर्फको करिब नौ सय मिटर सडक कालोपत्रेका लागि पनि ठेक्का खुलाइने जनाइएको छ ।