• १५ पुस २०८२, मङ्गलबार

आज तमु ल्होछार, पोखरामा महोत्सवको रमझम

blog

पोखरामा सोमबारबाट सुरु भएको ल्होछार महोत्सवमा नृत्य प्रस्तुत गर्दै युवतीहरु । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी
लेखनाथ, पुस १५ गते ।
अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइरहेको पर्यटन राजधानी पोखरामा तमु (गुरुङ) समुदायको नयाँ वर्षसमेत भव्य रुपमा मनाइँदै छ । पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा पोखराको टुँडिखेलमा सोमबारबाट महोत्सव सुरु भएको हो ।

तमु धीं नेपालले सर्प वर्ग (सप्री ल्हो) को बिदाइ र घोडा वर्ष (तो ल्हो) को स्वागत गर्दै आयोजना गरेको महोत्सव बुधबारसम्म चल्नेछ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार आयोजित समारोहमा महोत्सव उद्घाटन गर्नुभयो । उहाँले भाषा, संस्कृति, भेषभूषा र संस्कारले जातजातिका पहिचान भएको उल्लेख गर्नुभयो ।

यस्ता मौलिक र विविधताको संरक्षण र विकास गर्दै समृद्धिको सपना साकार पार्नुपर्ने उहाँको भनाइ छ । “ल्होछारले तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्छ, यसको मौलिकता जोगाइराख्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो । 
देशका सांस्कृतिक विविधताको संरक्षण, प्रवर्धन र विकासमा सबै तहका सरकारले यथोचित ध्यान दिनुपर्ने उहाँको भनाइ छ । प्रदेश प्रमुख भट्टले भन्नुभयो, ‘झाँकी,  र्‍यालीमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवायुवती पातालिँदै गएका छन् । अबको पुस्तालाई संस्कृति र धर्म पुस्तान्तरणप्रति जागरुक बनाऔँ ।”

उहाँले नेपालको ग्रामीण पर्यटन प्रवर्धनमार्फत समृद्धि लागि समेत तमु समुदायले विशेष योगदान गर्दै आएको उहाँको भनाइ छ ।  मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्न उहाँले अनुरोध गर्नुभयो ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामै सबै जातजाति र संस्कृतिको संरक्षण र विकास सम्भव हुने उहाँको भनाइ छ ।

तमु धीं नेपालका अध्यक्ष हुमबहादुर तमुले महोत्वसमा झाँकी, कन्सर्ट तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनुभयो । महोत्सव ३० हजार दर्शकले अवलोकन गर्ने उहाँको अनुमान छ ।

महोत्सवमा क्लब स्तरीय भलिबलसहित विभिन्न कार्यक्रम हुँदै छन् । झाँकी, गुरुङ भेषभूषा तथा भाषा, सामुहिक खुला लोकनृत्य र खुला छेलो प्रतियोगिता हुँदै छन् । भलिबलतर्फ पाँच क्लब सहभागी हुँदै छन् ।