टोपलाल अर्याल
रेसुंगा (गुल्मी), पुस १५ गते । गुल्मीको गुल्मीदरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । स्वास्थ्य बिमा बोर्ड र गुल्मीदरवार गाउँपालिकाबिच सेवा सञ्चालनका विषयमा सम्झौता भएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ तथा स्वास्थ्य बिमा नियमावली, २०७५ बमोजिम स्वास्थ्य बिमा बोर्ड र गुल्मीदरबार आधारभूत अस्पतालबिच स्वास्थ्य बिमा सेवा सम्झौता सम्पन्न भएको गाउँपालिकाका प्रमुख सरोजकुमार थापाले जानकारी दिनुभयो ।
सम्झौता अनुसार आगामी माघ १५ गतेदेखि स्वास्थ्य बिमा लागू हुनेछ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सम्पूर्ण लाभग्राहीहरूलाई गुल्मीदरबार आधारभूत अस्पतालबाट उपलब्ध स्वास्थ्य बिमा सेवा लिन गाउँपालिका प्रमुख थापाले अनुरोध गर्नुभयो ।
बिमा बोर्डले गाउँपालिकाका कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रमका विषयमा जानकारी गराउने, बिमा कार्यक्रमसँग सम्बन्धित प्रचार सामग्री (ब्रोसर, पोष्टर आदि) दोस्रो पक्षलाई उपलब्ध गराउने, कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्तिलाई बिमा व्यवस्थापन सूचना प्रणाली, दाबी भुक्तानी तथा उपचार खर्च दररेटका बारेमा जानकारी गराउने सम्झौतामा उल्लेख छ ।
गुल्मी आधारभूत अस्पतालबाट माग दाबी गरिएको भुक्तानी रकम तोकिएको म्यादभित्र भुक्तानी दिने, गाउँपालिकालाई बोर्डले तोकेको दरमा बहिरङ्ग सेवा, आकस्मिक सेवा र सम्झौता हुँदाका बखत सहमति भएको व्यवस्था अनुरुप अन्तरङ्ग सेवाको भुक्तानी गर्ने र पहिलो पक्षले स्वास्थ्य बिमा कार्यक्रमले व्यहोर्ने भनी उल्लेख भएका औषधीहरु सम्झौता हुँदाका बखत तोकिएको दरमा भुक्तानी गर्ने सम्झौता भएको गाउँपालिकाको उपाध्यक्ष तारा थापा ढेँगाले जानकारी दिनुभयो ।
कार्यक्रमका सदस्यलाई शिष्टतापूर्वक यस नियमावली बमोजिमका सेवा सुविधा गुणस्तरीय रुपमा प्रदान गर्ने, गराउने, दर्ता एवम् सोधपुछका लागि उचित प्रबन्ध मिलाउने, दाबीहरु बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टि गर्ने व्यवस्था मिलाउने, दोस्रो पक्षले आफ्नै परिसरमा औषधी वितरण कक्षको व्यवस्थापन गर्ने र सदस्यलाई तोकिएको सेवा तथा औषधीहरु निरन्तर उपलब्ध गराउने व्यवस्था मिलाउने सम्झौता भएको गुल्मीदरवार आधारभूत अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. नविन गौतमले जानकारी दिनुभयो ।
सेवाग्राहीको गुनासो सुनुवाइ र सोको व्यवस्थापन गर्ने गराउने, सदस्यता दर्ता गर्ने कार्यमा आवश्यक सहयोग गर्ने गराउने, सेवा दिनु अघि सदस्यले पाउने सुविधा कति बाँकी छ भन्ने कुराको जानकारी सेवाग्राह सदस्यलाई दिने, पहिलो पक्षले दाबी लगायतका विषयमा माग गरेको जवाफ पठाउनुपर्ने, उपचार सेवा दिँदा मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुरुप सेवा दिनुपर्ने र त्यस्तो मापदण्ड नबनेसम्म प्रचलित उपचार संहिता (प्रोटोकल( को पालना गर्नुपर्ने गौतमले बताउनुभयो ।
दाबी भुक्तानी बिमा व्यवस्थापन सूचना प्रणाली मार्फत गर्नुपर्ने, दाबी भुक्तानी सम्बन्धमा पहिलो पक्षबाट थप विवरण माग भएमा बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले र गुल्मीदरवार आधारभूत अस्पतालका मेडिकल अधिकृत डा.नविन गौतमले हस्ताक्षर गर्नुभएको छ ।