• ३ जेठ २०८१, बिहिबार

‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने : चिनियाँ विदेश प्रमुख

blog

काठमाडौं, असार २७ गते । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।

दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।

सोमबार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरु खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको औंल्याउनुभयो ।

उहाँले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो । प्रमुख लिउले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


उहाँले नेपाली बालबालिकाहरुलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गर्नुभएको छ । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुशी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरुसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा उर्जा जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ उर्जा व्यापारमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलस्राेत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पार्नुभयो । मन्त्री भुसालले सरकारी तवरबाट सुनकोशी जलविद्युत् आयोजनामा सहयोग गरेपछिका दिनमा अहिल विभिन्न निजी स्तरमा सहयोग कार्य गरिरहेको उल्लेख गर्नुभयो ।


मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले चीनले नेपालको औद्योगिकरण र आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको औंल्याउनुभयो ।