• ८ असार २०८१, शनिबार

आईसीसी विश्वकप लिग–२ : नेपाल आज नामिबियासँग भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २७ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत्र त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले आज (सोमबार) नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको  क्याम्बुस्दुन न्यू ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार  दिउँसो ३ : १५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपाल सुखद नतिजा निकाल्ने तयारीमा छ । तर बलियो नामिबियालाई हराउन नेपालले ब्याटिङमा धेरै सुधार गर्नुपर्ने छ । नेपाल क्यानडामा केही तयारी गरेर लिग–२ खेल्न स्कटल्यान्ड गएको हो । क्यानडामा नेपालले घरेलु टोलीसँग एउटा एकदिवसीय तथा ओन्टारियो क्लबसँग एउटा एकदिवसीय र अर्को  टी–२० अभ्यास खेल खेलेको थियो ।

नेपाल घरेलु टोलीसँग पराजित भएको थियो भने ओन्टारियोविरुद्धको अभ्यास खेलमा विजयी भएको थियो । नेपाल, नामाबिया र आयोजक स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग–२ मा १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । १५ खेल खेलेको नामिबिया १४ अंक सहित छैटौं स्थानमा छ । 

तालिकाको शीर्षस्थानमा रहेको ओमानले सबै ३६ खेल खेल सकेर ४४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको यूएईको २२ खेलबाट २६, चौथो स्थानमा रहेको अमेरिकाको २४ खेलबाट २३ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) को २० खेलबाट २ अंक छ । सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।