रमेश विश्वकर्मा
गुल्मी, पुस १० गते। गुल्मीको छत्रकोट गाउँपालिकाको गाउँसभाको २१ औं अधिवेशन सुरु भएको छ । यस गाउँपालिकाको गाँउसभाको २१ औं अधिवेशनको प्रथम बैठकबाट ५७ लाखभन्दा बढीको स्रोत सुनिश्चितता गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।
गाउँसभाको बैठकमा उपाध्यक्ष सावित्रा ज्ञवालीले अत्यावश्यक कार्यक्रम तथा आयोजना सम्पन्न गर्नका लागि पेश गर्नुभएको ५७ लाख ७५ हजार रुपियाँ बराबरको बजेटको स्रोत सुनिश्चितता प्रदान गरिएको छ । संशोधित कार्यक्रमहरु विपद् सामग्री व्यवस्थापन, निःशुल्क औषधी वितरण, स्वास्थ्य चौकी तथा विद्यालय व्यवस्थापनलगायतका रहेका छन् । त्यसैगरी यूडब्लुएस नेपाल कार्यक्रमसँग साझेदारी, रुरुक्षेत्र गाउँपालिकासँगको साझेदारीमा रिडीमा शवदाह निर्माण, मर्चुअरी फ्रिज लगायतका संशोधित कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्मको करिब पाँच करोड रुपियाँ बेरुजु सम्परीक्षणका लागि लेखा समिति संयोजक शेर बहादुर राकसकोटीले सभामा पेश गर्नुभयो । आर्थिक विकास समिति संयोजक तेजकान्त अर्यालले पेश गर्नभएको गत आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय अनुमोदन भएको छ । न्यायिक समितिका सदस्य नारायण रेश्मीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । गाउँसभाको २१ औं अधिवेशनको पहिलो बैठक स्थगित गर्नुहुँदै सभाध्यक्ष रामप्रसाद पाण्डेयले पुस २५ गते दोस्रो बैठक आह्वान गर्नुभयो ।
यता, मालिका गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशन सुरु भएको छ । गाँउसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष उपेन्द्र अर्यालले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत विनियोजन विधेयक २०८२ अन्तर्गतका आयोजना÷कार्यक्रमको रकमान्तर, श्रोतान्तर तथा खर्च कटौतिसम्बन्धी प्रस्ताव पेस गरिएको हो । गाउँपालिका अध्यक्ष देवीराम अर्यालको अध्यक्षतामा भएको गाउँसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा गाउँसभा सदस्य समिपा सुनारले समसामयिक विषय तथा अन्य सार्वजनिक महत्वका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।