बैतडी समाचारदाता
बैतडी, पुस १० गते । धन कमाउने सपना बोकेर सुदूरपश्चिम प्रदेशबाट भारतको पिथौरागढ पुगेका महिला र बालबालिका मानव तस्करी र बलात्कारको सिकार हुने गरेको घटना बाहिर आएको छ । घटनामा परेका ७५ महिला र बालिकाको उद्धार गरिएको छ । पछिल्लो समय महिला र बालबच्चासहित ज्यालामजदुरी गर्न जानेको सङ्ख्या बढेको छ । विद्यालय पढ्ने उमेरका बालबालिकासमेत धन कमाउने सपना बोकेर पिथौरागढ पुग्ने गरेका छन् ।
रोजगारी खोज्न पिथौरागढ पुगेका बैतडीको पुर्चौडी नगरपालिकाका एक दम्पतीको पिथौरागढमा दुर्घटनामा मृत्यु हुँदा साथमा रहेका १३ र १५ वर्षीय बालिकालाई मानव तस्करले बलात्कारपछि बेचबिखन गरेको पाइएको छ । रोजगारी लगाइदिने भन्दै मानव तस्करको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा परेका ७५ महिला र बालबालिकालाई त्यहाँको कार्ड संस्थाले उद्धार गरेपछि त्यो कुरा खुलासा भएको संस्थाका सचिव सुरेन्द्र आर्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा उज्वला कार्यक्रम सञ्चालन हुँदा सन् २०१६ देखि २४ सम्म ७५ जना नेपाली महिला र बालबालिकाको उद्धार, संरक्षण र न्यायिक निकायमा कानुनी लडाइँ लडेका छौँ ।” कार्यक्रम बन्द भएपछि संस्थाको संरक्षणमा रहेका महिला र बालबालिकालाई सुरक्षित नेपाल फर्काएको उहाँले बताउनुभयो ।
मानव तस्करको फन्दामा परेका २७ नेपाली बालबालिकालाई उद्धार गरेर उज्वला पुनर्वास केन्द्र पिथौरागढमा राखिएको थियो । उज्वला कार्यक्रम बन्द भएपछि पीडित नेपाल फर्किएका छन् । उद्धार गरिएका बालबालिका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका हुन् । आर्यका अनुसार बालकल्याण समितिले उद्धार गरेर केन्द्रमा ल्याएका २७ बालबालिकामध्ये १७ जनालाई बालश्रममा लगाइएको र १० जना बालिकामाथि यौन शोषण र बलात्कार भएको पाइएको छ । गरिब र टुहुरा बालबालिका मानव तस्करको जालमा फसेर भारतको पिथौरागढ पुग्ने गरेका छन् । यसरी भारत जानेका १० देखि १८ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउने, बेचबिखन र यौन शोषण गरेको आरोपमा केही भारतीयमाथि अदालतमा मुद्दा दर्ता भएको कानुन सहजकर्ता तनुजा पोखरियालले बताउनुभयो । अदालतबाट मुद्दाको किनारा नलागुन्जेलसम्म उद्धार गरिएका बालबालिकालाई संस्थाले खाने, बस्ने र पढ्न पाउने व्यवस्था मिलाएको थियो ।
मुद्दाको किनारा नलाग्दै बजेट अभावमा बालबालिकालाई नेपाल फर्काउनु परेको उज्वला पुनर्वास केन्द्रले जानकारी दिएको छ । दार्चुला नाका भएर भारतको पिथौरागढमा बिक्री भएकी कञ्चनपुरकी एक महिलालाई संस्थाले दुई वर्ष संरक्षण दिएर मुद्दाको किनारा लागेपछि नेपाल पठाइएको थियो । भारतीय बालकल्याण समितिको सहजीकरणमा यस्ता बालबालिकालाई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने विषयमा नेपाली अधिकारीसँग छलफल गरेर टुङ्गो लगाउने उहाँले बताउनुभयो । मौसमी रोजगारीका लागि भारत जाने नेपाली महिला र बालबालिकाबारे नेपाल–भारत सुरक्षा समितिको बैठकमा कुराकानी गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
सरकारसँग छैन तथ्याङ्क
रोजगारी खोज्न भारत जाने घरपरिवारको स्थानीय सरकारसँग कुनै तथ्याङ्क छैन । गाउँमा कुनै रोजगारी नहुँदा भारत नगए घरमा चुलो नबल्ने भएका कारण काम खोज्न भारत जाने गरेको सिगास–१ का लालमनि विकले पीडा सुनाउनुभयो । जिल्लाका पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकाबाट भारतमा ज्यालामजदुरी गर्न जानेको सङ्ख्या बढी छ । पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट पनि भारतमा ज्यालामजदुरी गर्न जानेको सङ्ख्या उत्तिकै छ ।