रामकृष्ण बोहरा
बागलुङ, पुस १० गते । जैमिनी नगरपालिकाको १८ औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शीर्षकको एक करोड ६३ लाखको बजेट व्यवस्थापन गरेको हो ।
नगर परिषदले वडा नं. ९ को वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माणका लागि ९८ लाख ४१ हजार सात सय ७८, खेलकुद विकास समितिका लागि १० लाख र वडाहरुलाई ३० लाख विनियोजन गरेको छ । परिषदले अन्य योजनाहरुमा रकम विभाजन गरेको छ भने गत असारमा सम्पन्न १७ औं नगरसभाबाट पारित भएका योजना कार्यक्रम एवम् बजेटलाई संशोधन वा रकमान्तर गरेको छैन । सभाले केही करको दर थप गरेको छ ।
नगरसभामा राजश्व परामर्श समिति एवम् न्यायिक समितिको प्रतिवेदन समितिका संयोजक एवम् नगर उप्रमुख हरिहर शर्माले संशोधित बजेट नगरसभामा पेश गर्नुभएको थियो ।
सभामा लेखा समितिका संयोजक गिता विक, सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष विष्णु आचार्य, संस्थागत सुशासन समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष प्रेम सापकोटा, आर्थिक विकास समितिका संयोजक एवम् वडा नं. ४ का वडाध्यक्ष चक्रबहादुर थापा, वन, वातावरण एवं विपद समितिका संयोजक एवम् वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर थापा, भौतिक पूर्वाधार समितिका संयोजक एवम् वडा नं. १० का वडाध्यक्ष श्रीप्रसाद थापाले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदनउपर नगरसभाका सदस्यहरुले जिज्ञासा एवम् सुझाव राख्नुभएको थियो । नगरसभा नगर प्रमुख नरबहादुर पुनको अध्यक्षता, उपप्रमुख हरिहर शर्माको स्वागत एवम् प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।