• ८ असार २०८१, शनिबार

एक अर्ब लगानीमा रिसोर्ट निर्माण

blog

चितवन, असार २७ गते । भरतपुर महानगरपालिका–२२ मा ‘सोल्टी पटिहानी रिसोर्ट’ साउनदेखि सञ्चालनमा आउने भएको छ । पश्चिम चितवनको पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन र सोल्टी होटलबीच सम्झौता भएपछि नाम परिवर्तन गरेर सोल्टी पटिहानी रिसोर्ट सञ्चालनमा आउन लागेको हो ।

सम्झौतापत्रमा रिभरसाइड रोयल गार्डेनका अध्यक्ष कल्याण जोशी, प्रबन्ध निर्देशक ऋषि न्यौपाने र सोल्टी होटलका तर्फबाट उपाध्यक्ष सुदर्शन चापागाईं र दीपक लेखकले हस्ताक्षर गर्नुभएको छ ।  सोल्टी होटलले सातवटै प्रदेशमा आफ्नो सेवा विस्तार गरेसँगै पटिहानीको रिसोर्टलाई सोल्टीले १० वर्ष व्यवस्थापन गर्नेगरी लिएको हो । 

आइतबार रिसोर्टमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उपत्यकाबाहिर सोल्टीको नेपालगञ्जमा आफ्नै पाँचतारे होटल विस्तार भइसकेको छ । पटिहानीमा सञ्चालनमा आउने ‘सोल्टी पटिहानी रिसोर्ट’ चारतारेसरहको सुविधा रहेको प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो । 

करिब एक अर्ब लगानीमा बनेको रिसोर्टमा नेपालका २५ जना लगानीकर्ता रहेको न्यौपानेले जानकारी दिनुभयो । ४० वटा कोठा १२ भिल्लासहितको यो रिसोर्ट पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलनुअघि सुरु भएको यो रिसोर्ट निर्माण हुन करिब पाँच वर्ष लागेको छ ।  

आगामी साउन १ गतेबाट पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्टले सेवा थाल्ने तयारी गरेको छ । कोरोनाको कहर सकिएको र पर्यटकीय गतिविधि वृद्धि हुन थालेकाले अब रिसोर्ट सञ्चालन गर्न उपयुक्त वातावरण भएको उहाँले बताउनुभयो ।