• ९ पुस २०८२, बुधबार

कार्यविधि नआउँदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या

blog

कृषि विकास कार्यालय हुम्ला । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला पुस ९ गते ।
आयआर्जनका कार्यक्रमका लागि सूचना जारी गरेर प्रास्तावना माग गरिएको भए पनि छनोटमा समस्या आएको छ । नयाँ कार्यविधि नआउदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या भएको हो ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष सुरु भएको छैटौं महिना लाग्दा पनि नयाँ कार्यविधि नपठाएका कारण आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या भएको कृषि विकास कार्यालयका प्रमुख चुणमणि पन्तले बताउनुभयो ।

यसबाट सो कार्यालयको व्यावसायिक स्याउ ओखर बगैंचा स्थापना तथा विकास कार्यक्रम सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो । यो कार्यक्रमबाट २० वटा स्याउ, ओखर बगैंचा व्यवस्थापन कार्यक्रमका लागि सूचना जारी गरेर प्रस्तावना माग पनि भइसकेको र त्यसका लागि १०४ वटा प्रस्तावना कार्यलयमा पेश भएका छन् ।

त्यसको छनोटका लागि कार्यविधि मन्त्रालयबाट आई नपुगेका कारण काम अगाडि बढाउन नसकिएको उहाँले बताउनुभयो । स्याउ ओखर बगैंचा व्यवस्थापनका लागि सात वटै गाउँपालिकाका लागि दुई करोड बजेट विनियोजित भएको छ । कार्यविधि नआएका कारण यी कार्यक्रम सिजनमा गर्नुपर्ने भएका कारण समस्या भइरहेको उहाँको भनाइ छ । कार्यविधि मन्त्रालयले तयार गरेको भए पनि कर्णाली प्रदेश सरकारको मन्त्री परिषदबाट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

अघिल्ला वर्षसम्म यस्ता कार्यविधि सम्बन्धित मन्त्रालयले तयार पारेर पठाउने गर्दै आएकोमा यसवर्षबाट त्यसलाई अझै पारदर्शी र कानुन मान्यता दिन मन्त्री परिषदबाट पारित गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । मन्त्रालयमा यस सम्बन्धमा बुझ्दा मन्त्रिपरिषद् बैठक बस्न नसकेका कारण कार्यविधि पारित हुन नसकेको जवाफ आउने उहाँले बताउनुभयो । यो समस्या कृषि विकास कार्यालयले मात्र भोग्नुपरेकाे छैन । सोही मन्त्रालयअन्तर्गत पर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई पनि स्राेत केन्द्रसम्बन्धी कार्यक्रम सञ्चालनमा समस्या आएको कार्यालय प्रमुख पशु चिकित्सक नवीन पौडेलले बताउनुभयो ।

उहाँले कार्यविधि नआउँदा स्रोत केन्द्रअन्तर्गत चौंरी र च्याङ्ग्राका आजआर्जनका कार्यक्रम नाम्खा र सिमकोट गाउँपालिकामा सञ्चालनमा समस्या भइरहेको उहाँले बताउनुभयो । यी कार्यक्रम सञ्चालनका लागि एक करोड ५६ लाख बजेट विनियोजित भएको छ ।