• ९ पुस २०८२, बुधबार

दूतावासको सहयोगमा विद्यालय भवन शिलान्यास

blog

निन्युखर्क माविको भवन शिलान्यास गर्दै भारतीय राजदूतावासकी काउन्सिलर गीताञ्जली ब्रैडन । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस ९ गते । गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयको आठकोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण हुने बिद्यालय भवनको मङ्गलबार भारतीय राजदूतावासकी काउन्सिलर गीताञ्जली ब्रैडन र धुर्कोट गाउँपालिकाका प्रमुख भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

भवन शिलान्यासपछि संक्षिप्त प्रतिक्रया दिँदै काउन्सिलर गीताञ्जली ब्रैडनले यो कामले दुई देशबिचको सम्बन्ध अझै बलियो र सुदृढ हुने बताउनुभयो । उहाँले नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण बिद्युतीकरण लगायतको क्षेत्रमा भारतीय सरकारले काम गर्दैआएको बताउनुभयो । ब्रैडनले समयमै निर्माणको काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । 

धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोखरेलले भारत सरकारको ९५ प्रतिशत लगानीमा विद्यालय भवन निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले दूतावासले गाउँको दलित र जनजाति बस्तीमा विद्यालयको क्षेत्रमा गरेको योगदान प्रशंसायोग्य रहेको बताउनुभयो ।

दुईतले आठकोठे भवनको कुल लागत तीन करोड आठ लाख रुपियाँ छ । बिजी मुडली जेभी मार्फत २०८२ साउन ४ गते सम्झौता भएको भवन निर्माण आगामी वर्षको असोज ७ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । २०१६ सालमा स्थापना भएको निन्युखर्क माध्यमिक विद्यालयमा अहिले एकसय ७५ छात्रा र एकसय ६५ छात्र गरी कुल ३४० विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सुनारले बताउनुभयो ।

पुरानो भवनको समस्या समाधान हुँदै गएकाले दुतावाससँगै बसको माग पनि गरिएको सुनारले बताउनुभयो । हाडहाडेमा ४० जना बढी भूतपूर्व भारतीय सेना छन् । उनीहरुको योगदानलाई कदर गर्दै विद्यालय भवन, खानेपानी, पुस्तकालय लगायतको क्षेत्रमा दूतावासबाट सहयोग हुँदैआएको भूतपूर्व भारतीय सुवेदार दिलबहादुर श्रीसले बताउनुभयो । उहाँले निन्युखर्क मावि पनि भारतीय सेनाबाट अवकाशप्राप्त व्यक्तिबाट पढाउँदै अगाडि बढाइएको श्रीसले बताउनुभयो ।