• ९ पुस २०८२, बुधबार

गुणस्तरहीन काम

तीन महिनामा उप्कियो कालोपत्रे

blog

कालोपत्रे उप्किएको सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

बेनी, पुस ९ गते । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडक कालोपत्रे गरेको तीन महिनामै उप्किएको छ । ठेकेदारको लापर्बाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्रे उप्किँदा खाल्टाखुल्टी परेका छन् । ठेकेदारले कमसल खालको कालोपत्रे गरेकाले चाँडै नै उप्किएको स्थानीयले बताएका छन् । कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाउँदै फेरि कालोपत्रे गर्नुपर्ने माग गरेका छन् । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ अन्तर्गत सञ्चालित बेनी नगरपालिकाको रत्नेचौरदेखि भकुन्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै कालोपत्रे गरिएको थियो । 

सडकमा बिछ्याइएको चिप्स नसमातेको र सडक खाल्टाखुल्टी बनेको बेनी नगरपालिका–१ का वडा सदस्य ताराप्रसाद थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक कालोपत्रे गरेको तीन महिना पनि भएको छैन । सबैतिर कालोपत्रे उप्किएर खाल्टाखुल्टी परिसके । कमसल खालको कालोपत्रे भएकाले फेरि कालोपत्रे गर्न भने पनि सम्बन्धित निकायले कुनै सुनुवाइ गरेको छैन ।”

पटक पटक गुनासो राख्दा पनि सुनुवाइ नभएपछि स्थानीयवासीले सडक डिभिजन कार्यालय बागलुङ घेराउ गर्ने योजना बनाएको बताएका छन् । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै दोस्रो चरणको कालोपत्रे गरिएको छ । बिमिराबोट–भकुन्डे–तमाने खण्डको सडकमा संरचना तयार पारेर कालोपत्रे गर्ने तयारी भएको छ । 

बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको लापर्बाहीबारे अनुगमन समितिले लिखित पत्र पठाउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँका अनुसार पुनः एक पटक सडक डिभिजन र ठेकेदारलाई बिग्रिएको सडकलाई सुधार गर्न लगाउने प्रयास गरिने र स्थानीयको माग अनुसार काम नभए आन्दोलन गर्नुपर्ने योजना स्थानीयले बनाएका छन् । 

उहाँले सडक डिभिजन कार्यालयका प्रमुख र प्राविधिकसहितको टोलीलाई कालोपत्रे सडकको अनुगमन गर्न अनुरोध गरिएको बताउनुभयो । सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रेका लागि सञ्चालित योजनाको आधाभन्दा बढी भाग दोस्रो चरणको पनि कालोपत्रे भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले कालोपत्रे र ढलान गर्ने सम्झौता छ ।

उक्त योजना निर्माण गर्न २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले २३ करोड ३२ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुनसम्म थप भएको छ । ठेकेदारले सम्झौता अनुसारको सामग्री प्रयोग नगर्दा कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् ।