• ९ पुस २०८२, बुधबार

प्रदेश सभाको बैठक सूचना प्रविधि कक्षमा

blog

ललित बसेल

सुर्खेत, पुस ९ गते । कर्णाली प्रदेश सभाको आगामी हिउँदे अधिवेशनको बैठक सूचना प्रविधि कक्षमा बस्ने भएको छ । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते कर्णाली प्रदेश सभामा आगजनी भएको थियो । आगामी माघ २१ गतेदेखि हुने हिउँदे सभाको बैठक प्रदेश सभाको परिसरमा रहेको सूचना प्रविधि कक्षमा बस्ने भएको हो । 

सूचना प्रवधि कक्षलाई अस्थायी रूपमा प्रदेश सभा बैठक स्थल बनाउने गरी मर्मतसम्भार र रङरोगन गर्न थालिएको छ । प्रदेश सभा बैठक स्थलगायत धेरै संरचना आगजनी गरेर क्षतिग्रस्त बनाएपछि हिउँदे अधिवेशन माघ २१ गतेभित्र बोलाउनुपर्ने प्रावधान अनुसार बैठक सञ्चालन गर्न अस्थायी रूपमा सूचना प्रविधि कक्षलाई प्रयोग गर्नु परेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा भवनमा व्यापक क्षति हुँदा तत्काल बन्न नसक्ने भएकाले अस्थायी रूपमा काम चलाउका लागि सूचना प्रविधि कक्षलाई बनाउन लागिएको सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो । पहिले उक्त स्थानमा पत्रकारका लागि प्रदेश सभाले सूचना ब्रिफिङ गर्ने गरिन्थ्यो । 

पुरानो बैठक स्थलमा आगजनीबाट सबै संरचना ध्वस्त बनेका छन् । त्यति मात्र होइन, पदाधिकारीको कार्यकक्ष, विषयगत समितिका बैठक स्थल पनि आगजनीबाट ध्वस्त भएका थिए । अहिले पदाधिकारीको कार्यकक्ष, विषयगत समितिका बैठक स्थल पनि मर्मतसम्भारका साथै रङरोगन गर्न थालिएको उहाँले जनाउनुभयो । अस्थायी बैठक स्थल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास निर्देशनालयमार्फत मर्मतसम्भारको काम हुँदै छ भने विषयगत समिति तथा पदाधिकारी कार्यकक्ष भने प्रदेश सभाको नियमित बजेटबाट मर्मत कार्य भइरहेको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार यही पुसको अन्तिम सातासम्म अस्थायी प्रदेश सभा बैठक स्थललगायतका संरचनाको मर्मत गर्ने काम सक्ने लक्ष्य छ । 

पुरानो प्रदेश सभा बैठक स्थल बनाउनका लागि समय लाग्ने भएको छ । त्यहाँका कुर्सी, रोस्टमलगायत विद्युतीय संरचना सबै ध्वस्त भएपछि हिउँदे अधिवेशन अगाडि मर्मत गर्न नसकिने भएपछि प्रदेश सभा सचिवालयले अस्थायी बैठक स्थलको खोजी गरेको थियो । विकल्पका रूपमा जिल्ला समन्वय समितिलगायतका स्थान परे पनि सुरक्षालगायतका दृष्टिकोणले प्रदेश सभापरिसरभित्रै रहेको सूचना प्रविधि कक्ष उपयुक्त मानिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । आन्दोलनका क्रममा सूचना प्रविधि कक्ष पनि ध्वस्त थियो । अहिले त्यहाँको संरचना मर्मतसम्भार र रङरोगन गर्न थालिएको छ । उहाँले माघ २१ मा हुने हिउँदे अधिवेशन सञ्चालनका लागि अस्थायी रूपमै भए पनि करिब करिब सबै तयारी पूरा गरिसक्ने दाबी गर्नुभयो । 

यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गत आइतबार प्रदेश सभाको निरीक्षण गरी भवनको मर्मत तथा निर्माणको तयारीबारे जानकारी लिनुभएको छ । मुख्यमन्त्री कँडेललाई भवन मर्मतलगायत विविध पक्षबारे प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी गराउनुभएको थियो । सचिव बुढाथोकीले अस्थायी रूपमा प्रदेश सभा बैठक स्थलको तयारी र अन्य मर्मतसम्भारको काम तीव्र गतिमा भइरहेको अवगत गराउनुभएको थियो ।