• ८ मंसिर २०८१, शनिबार

विश्व जनसङ्ख्या दिवस

छिट्टै आठ अर्बको विश्व

blog

नगेन्द्र सापकोटा/सूर्यप्रसाद पाण्डे 

काठमाडौँ, असार २७ गते ।  विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ । अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो । नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ ।

यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा ‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ । विश्व जनसङ्ख्या कोषले सोमबार सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२’ अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्नेछ र सन् २१०० सम्म त्यही स्तरमा रहनेछ । औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ ।

कोषका अनुसार विश्वको जनसङ्ख्या सातदेखि आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको छ र छदेखि सात अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो । अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको छ । विश्व जनसङ्ख्यामा थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको छ । यसमा अफ्रिकाले दोस्रो ठूलो योगदान गरेको छ । जुन महादेशमा ४० करोड जनसङ्ख्या रहेको छ । विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्बको जनसङ्ख्या वृद्धिमा १० वटा देशले आधाभन्दा बढी योगदान गरेका छन् । यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ भने चीन र नाइजेरियाको वृद्धिदर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ ।

विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४५ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा जनसङ्ख्या छ । तेस्रो अमेरिकामा ३३ करोड जनसङ्ख्या रहेको त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक पद्मप्रसाद खतिवडाले बताउनुभयो । सन् २०२३ मा भारतले चीनलाई जनसङ्ख्यामा उछिन्ने प्रक्षेपण छ । अफ्रिका र एसियाले नौ अर्ब पुगुन्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्ने छन्, जुन सन् २०३७ सम्ममा पूरा हुनेछ । विश्वको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ हिस्सा जीवनपर्यन्त बच्चा जन्माउने महिलाले ओगटेका छन् । त्यस्तो देश वा क्षेत्रमा बसोबास गर्ने महिलाको बच्चा जन्माउने दर प्रतिमहिला २.१ भन्दा कम छ । 

जनसङ्ख्या बढ्दै जाँदा चुनौती र अवसर दुवै थपिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका कार्यकारी निर्देशक डा. नतालिया कनेमले भन्नुभयो, “यो एक सफलताको कथा हो, प्रलयको दिनको परिदृश्य होइन । चुनौतीका बीच पनि हाम्रो विश्व इतिहासको अहिलेसम्मकै एउटा यस्तो बिन्दुमा छ, जहाँ धेरै मानिस शिक्षित र स्वस्थ जीवन बाँच्ने अवस्थामा छन् ।” 

जनसङ्ख्या समस्या मात्रै नभई समाधान पनि भएको बताउँदै कनेमले भन्नुभयो, “अनुभवले देखाउँछ कि नागरिकको अधिकार र रोजाइमा गरिने लगानी नै शान्तिपूर्ण, समृद्ध र दिगो समाजतर्फको बाटो हो ।” यस अवधिमा विश्वमा गरिबी घटेको तथा स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति हासिल भएको पनि कोषको दाबी छ । 

तर, मानवताले सामना गरिरहेका चुनौती पनि प्रशस्तै रहेकाले त्यसतर्फ सचेत रहन कोषले चेतावनी पनि दिएको छ । जलवायु परिवर्तन, द्वन्द्व र कोभिड–१९ जस्ता पुस्ता–परिभाषित मुद्दाले धेरै सीमान्तकृत र जोखिममा परेकालाई असमान रूपले असर गरिरहेको कोषले बताएको छ ।  

नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या छ । आगामी कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर र नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताउनुभयो। करिब तीन करोडको हाराहारीमा रहेको नेपालको जनसङ्ख्या समानुपातिक रूपमा स्रोत र साधनको वितरण हुँदा चुनौती नबनेको उहाँको भनाइ छ।