• १६ भदौ २०८१, आइतबार

संसदीय टोलीद्वारा गेटा मेडिकल कलेजको निरीक्षण

blog

अविनाश चौधरी

धनगढी, असार २६ गते । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले आइतबार कैलालीस्थित गेटा मेडिकल कलेजको निरीक्षण गरेको छ । भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजको भौतिक अवस्थाबारे जानकारी लिन र सञ्चालन गर्ने प्रारुपका विषय बुझ्न संसदीय टोलीले अनुगमन गरेको हो । 

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व मन्त्रीसमेत रहनु भएका सांसद योगेश भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो । गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडि बढाउन सकिए राष्ट्रलाई नै फाइदा हुने उहाँले चर्चा गर्नुभयो ।  

त्यस्तै, पूर्वी मन्त्रीसमेत रहनु भएका अर्का सांसद् नारदमुुनि रानाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कलेजको भौतिक प्रगति आशालाग्दो छ ।’

सो अवसरमा गेटा मेडिकल कलेजका भौतिक पूर्वाधार निर्देशक हेमराज पुजाराले मेडिकल कलेज सञ्चालनका लागि दुई वर्ष अगाडि नै पूर्वाधार तयार पारेको बताउनुभयो । अहिले दोस्रोचरण अन्तर्गत थप पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ छ । 

संसदीय टोलीमा सांसद्हरु योगेश भट्टराई, नारदमुनी राना, चित्रलेखा यादव, अञ्जना विशङ्खे, मानबहादुर विश्वकर्मा, डा. दीपक भट्ट, भैरवबहादुर सिंह र नविना लामा रहनु भएको छ ।