• ८ जेठ २०८१, मङ्गलबार

साहित्यिक रचनालाई निरन्तरता दिन अध्यक्ष ओलीको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २६ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आईतबार यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो । 

गीत, संगीत र गायन क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपाल कविता, गीत, संगीत, गायनजस्तो रचनाहरुको परम्परा भएको मुलुक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस परम्परालाई निरन्तरता दिएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘साहित्यिक रचना सिर्जना गरिरहन सबैलाई आग्रह गर्दछु । हाम्रो साहित्यिक परम्परा, हाम्रो कवित्व परम्परा आजको होईन । यो परम्परालाई अघि बढाउ हामी कृतसंकल्पित छौं । गीतको क्षेत्रमा, संगीतको क्षेत्रमा, गायनको क्षेत्रमा हाम्रा साथीहरु प्रतिवद्ध हुनुहुन्छ । उहाँहरुलाई प्रोत्साहन गर्न हामी सबै तयार छौंं । नेपाली जनता पनि यस परम्परालाई अगाडि बढाउन प्रतिवद्ध छन ।’

अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताउनुभयो । नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको बताउनुहुँदै अध्यक्ष ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान गर्नुभयो ।