• १७ असार २०८१, सोमबार

बाँकेलाई प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड विजेता बाँकेलाई शिल्ड प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

लिलाधर वली

घोराही, असार २६ गते । प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेलुझण्डीमा संचालित १२औं संघीय तथा  प्रथम लुम्विनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँकेले जितेको हो । प्रतियोगितामा १९ स्वर्ण, ७ रजत र १० कांश्य पदक जित्दै बाँके च्याम्पियन बन्यो । 

यसैगरी बर्दिया जिल्ला ९ स्वर्ण, ९ रजत र १२ कांश्य पदक सहित दोस्रो र दाङ ६ स्वर्ण, ११ रजत र १३ कांश्य पदकसहित तेस्रो भयो । तीन दिने प्रतियोगितामा कपिलवस्तु जिल्लाले ६ स्वर्ण, ४ रजत र २ कांश्य पदकसहित सान्त्वना पुरस्कार पायो । 

कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । एथलेटिक्समा छात्रमा बाँकेका युवराज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो । उसुतर्फ छात्रमा बाँकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित, भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । 

प्रतियोगितामा व्यक्तिगत विध अन्तरगत एथलेटिक्स, उसु, करातेमा पहिलो भएका खेलाडी र टिम गेमतर्फ कबड्डी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडीले यहि असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।