• ५ पुस २०८२, शनिबार

छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस ५ गते ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीमा सञ्चालित सम्मुनति कार्यक्रमको वार्षिक समीक्षा बैठकमा सो गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

सेभ द सप्तरीका कार्यक्रम संयोजक संजिव चौधरीले सम्मुनति कार्यक्रमअन्तर्गत तीनवटा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले अब तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकालाई समेत बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।

“विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकामा वडाहरूलाई बालविवाह मुक्त घोषणा गर्ने काम जारी छ, यही डिसेम्बरभित्र दुवै पालिका बालविवाह मुक्त घोषणा हुनेछन्,” चौधरीले भन्नुभयो ।

सोही कार्यक्रमअन्तर्गत छिन्नमस्ता, तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकासहित राजविराज नगरपालिकाका पाँच वटा वडामा सतप्रतिशत विद्यार्थी विद्यालय भर्ना, गरिबी निवारण, स्वास्थ्य सेवामा सहज पहुँच, बालविकास भवन निर्माण लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको छ ।

यही परियोजनाअन्तर्गत खडक नगरपालिका र सुरुङ्गा नगरपालिकामा सबल नेपालले, तथा हनुमाननगर कंकालिनी नगरपालिकामा जनचेतना अभियान नेपालले बालबालिकाको संरक्षण, शिक्षकहरूको क्षमता विकास, विपन्न परिवारलाई लक्षित कृषि तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको सबल नेपालका फिल्ड म्यानेजर रोशन मण्डलले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेनका प्रोग्राम म्यानेजर उमेश कुमार गुप्ताले सम्मुनति कार्यक्रमअन्तर्गत तीनवटै साझेदार संस्थाले गरेको काम सन्तोषजनक रहेको बताउँदै स्थानीय तह र समुदायको सहकार्यले बालविवाह न्यूनीकरणमा ठोस उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।

शुक्रबार सम्पन्न भएको समिक्षा बैठकमा एकसय जनाभन्दा बढी सरोकारबालाहरुको सहभागिता रहेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिनुभयो ।