• ४ पुस २०८२, शुक्रबार

प्रशासकीय भवन निर्माणमा विलम्ब

blog

गलकोट नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवन  । तस्बिर : रामकृष्ण बोहोरा

बागलुङ समाचारदाता

बागलुङ, पुस ४ गते । हरेक वर्षको चौमासिकमा गलकोट र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाइमा आउने नियमित प्रश्न बनेको छ, प्रशासकीय भवन कहिले बन्छ ? कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतिको सूचक देखाउने नगरपालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घर पूरा नभई जीर्ण बन्न थालिसकेको विषय चासोका साथ उठाउने गरिएको छ । 

यस विषयमा नगरप्रमुखदेखि प्रशासकीय प्रमुखले समेत जवाफ दिन सकेका छैनन् । नगरपालिका मासिक एक लाख ५० हजार रुपियाँसम्म भाडा तिरेर बस्ने, आफ्नो भवन भने अलपत्र पर्ने क्रम बर्सौंदेखिको हो । प्रश्नकर्ताले नियमित प्रश्न गरेपछि जवाफ दिन नसकेर जनप्रतिनिधि लाचार देखिएका छन् । “न ठेकेदारलाई ल्याएर काममा लगाउन सकियो, न त जनतालाई चित्तबुझ्दो जवाफ दिन सकियो,” जैमिनी नगरका उपप्रमुख हरिहर शर्माले भन्नुभयो, “समयमा काम नहुँदा जनताको चित्त बुझाउन सकेका छैनौँ ।” तोकिएको समयमा काम गरेको भए गलकोट र जैमिनीको भवन तीन वर्षअघि नै सम्पन्न भइसक्थ्यो । यी भवनको अवस्था ढलानमै सीमित छन् । ठेकेदारको भनाइमा ६० प्रतिशतभन्दा बढी काम भएको छैन ।

ठेकेदारले अलपत्र छाड्दा प्रशासकीय भवनको ढलान मात्रै देखिन्छ । दुवै नगरपालिकाले २०७८ सालमा तीन वर्षमा बन्ने गरी भवन ठेक्का लगाएका थिए । २०८० सालमै म्याद सकिए पनि अझै ठेकेदारले काममा चासो देखाएको छैन ।

ठेकेदार कम्पनीले असार मसान्तमा आएर अनेक बहाना देखाई म्याद थप गर्दै जाने गरेका छन् । तोकेको समयमा सकिनेमा भने ठेकेदार पनि विश्वस्त छैनन् । काम गर्नेभन्दा ठेक्का लिएर ओगट्ने प्रवृत्ति हुँदा काम अलपत्र पर्ने गरेको उपप्रमुख शर्माको टिप्पणी छ । ठेकेदार कम्पनी रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कम्पनीले जैमिनीको प्रशासकीय भवन निर्माणका लागि छ करोड १७ लाख र गलकोटको भवनका लागि १२ करोड ४१ लाख ५५ हजार रुपियाँमा ठेक्का लिएको थियो । नगर उपप्रमुख शर्माले ठेकेदारलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न ताकिता गरेको बताउनुभयो । 

जैमिनीले मासिक डेढ लाख रुपियाँ घरभाडा तिर्ने गरेको छ । अहिले पनि कुश्मीसेरा बजारका तीन वटा घरको पूरै र केही अन्य घरमा विभिन्न शाखा राखेर नगरपालिका सञ्चालन गरिएको छ । गलकोटले पनि दुई वटा घर भाडामा लिएको छ । समयमै भवन नबन्दा कार्यपालिका बैठक बस्नसमेत असहज भएको प्रतिनिधिको गुनासो छ । रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कम्पनीका प्रतिनिधि नरेश ओझाले कोरोना सङ्क्रमणले ढिलाइ भए पनि आगामी दिनमा काम समयमै सक्ने प्रतिबद्धता जनाउनुभएको छ । 

पालिकाको प्रशासकीय भवन ठेक्का लिएको ठेकेदारले बागलुङ नगर अस्पताल निर्माणमा पनि ढिलाइ गरेको छ । एक वर्षमा सक्ने गरी निर्माण थालिएको अस्पतालको भवन तीन वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नति गर्ने नगरपालिकाको योजना छ । सङ्घीय सरकारको विशेष अनुदानमा २०७९ माघ ६ मा एक वर्षमा सक्ने गरी अस्पताल भवन निर्माण थालिएको इन्जिनियर सोबिन घर्तीले बताउनुभयो । “दुई पटक थपेको म्याद सकिएर पनि भवनको काम अघि नबढ्दा अन्योल थपिएको छ,” घर्तीले भन्नुभयो ।