यज्ञप्रसाद सापकोटा
बर्दिया (गुलरिया), पुस ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बर्दियाको जब्दीघाट पुलको अनुगमन गर्नुभएको छ । उहाँले पुरानो पुलको मुद्दा लम्बिने भएको हुँदा नयाँ पुल निर्माण प्रक्रिया अगाडि बढिसकेको र छिट्टै नै पुलको ठेक्का हुने बताउनुभयो ।
जब्दीघाटको पुलबारे धेरै अगाडिदेखि सुनिरहेको बताउँदै मन्त्री घिसिङले आफू मन्त्री हुनासाथ पुल निर्माणका लागि बहुबर्से स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो ।
उहाँले अर्थ मन्त्रालयमा बहुबर्से ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनुपर्नेमा मन्त्रीपरिषद्ले कार्यविधि पास गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुन्छ, लामो समयसम्म पुल नबन्दा जनताले दुःख पाएको देखेर मलाई पनि दुःख लागेको छ ।” पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकाले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको उहाँले उल्लेख गर्नुभयो ।
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर समस्या समाधानका लागि नीतिगत रूपमै अगाडि बढाउने उहाँले बताउनुभयो । मन्त्रीसमक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गर्दै बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन नसकेको मन्त्री घिसिङलाई बताउनुभयो ।
सरकारले अघिल्लो आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आवमा ११ करोड रुपियाँ विनियोजन गरेको छ । पुलको लागत एक अर्ब एक करोड २९ लाख रुपियाँ हुने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।
पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै विसं २०७४ को बाढीका कारण पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । पुल भासिए पनि जोखिम मोलेर साना सवारीसाधन र पैदल यात्रा भइरहेकोमा २०७९ को बाढीले पुललाई पूर्ण रूपमा बगाएपछि स्थानीयवासी डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिँचाइ, पुललगायतका विभिन्न स्थानको अनुगमन गर्नुभएको थियो भने बर्दियाका दौलतपुर र कैलालीको टीकापुर जोड्ने झोलुङ्गे पुल शिलान्यास गर्नुभएको छ ।