• ४ पुस २०८२, शुक्रबार

गर्जुरा पार्कमा आकर्षण

blog

तम्घास समाचारदाता 

तम्घास (गुल्मी), पुस ४ गते । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा रहेको गर्जुरा पार्क पाँच महिनाको अवधिमा १२ हजारभन्दा बढीले अवलोकन गरेका छन् । 

रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार यस आर्थिक वर्षको सुरुदेखि मङ्सिरसम्म १२ हजार एक सय जनाले रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरा पार्कको अवलोकन गरेका हुन् । नगरले स्थापना गरेको पर्यटन सूचना केन्द्रको अभिलेख अनुसार राजनीतिक दल, राष्ट्रियस्तरका कलाकार, पत्रकार, व्यवसायी, धर्म तथा पर्यटनमा रुचि राख्ने धार्मिक तीर्थालु, आन्तरिक पर्यटक गरी कुल १२ हजार एक सयले यस क्षेत्रको अवलोकन गरेका हुन् । नगरप्रमुख खिलध्वज पन्थीले नगरले सञ्चालन गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान प्रभावकारी भएको बताउँदै यस अभियानलाई निरन्तरता दिएको बताउनुभयो । 

अभियानले गर्जुरा पार्क, अर्जुन क्षेत्र, उनायचौरको ट्री हाउस, धुर्कोटको विचित्र गुफा, भुवाने पार्क, तम्घास थान मन्दिरमा चहलपहल बढेको बताउँदै उहाँले आर्थिक गतिविधि पनि चलायमान भएको उल्लेख गर्नुभयो । 

यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि नगरले पहिलो प्राथमिकता दिएर काम गरेकाले यस अभियानमा सबैको साथ आवश्यक रहेको उहाँको भनाइ छ । यस क्षेत्रमा गर्जुराको पानी ट्याङकीदेखि गर्जुरा पार्कसम्म जिपलाइन र साइक्लिङ निर्माण पनि अगाडि बढेकाले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने नगरले विश्वास लिएको छ । पार्कबाट यस आर्थिक वर्षको हालसम्म चार लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।