कौटिल्य अथवा चाणक्यलाई आधुनिक कूटनीतिक राज्य सञ्चालन कलाका जनकका रूपमा मानिन्छ । कौटिल्य सूक्ष्म, दूरदर्शी र चतुर राजनीतिक चिन्तक थिए, जसले शासक तथा कूटनीतिज्ञहरूका लागि प्रस्तुत गरेका सिद्धान्त आज पनि विदेश नीति र शासनकलाको आधारस्तम्भका रूपमा प्रयोग भइरहेका छन् । विशेषतः भारतले आफ्नो कूटनीतिक व्यवहारमा कौटिल्यका अनेकौँ रणनीतिलाई अवलम्बन गरेको मानिन्छ ।
कौटिल्यको सिद्धान्त आधुनिक कूटनीतिक अभ्यासमा यथार्थवादी दृष्टिकोणको प्रारम्भिक अभिव्यक्ति मानिन्छ । यो दृष्टिकोण आदर्शवादी धारणाको ठ्याक्कै विपरीत छ र विद्यमान शक्ति सन्तुलन, क्षमतागत वास्तविकता तथा रणनीतिक परिवेशलाई कूटनीतिक क्रियाकलापको मुख्य आधार मान्छ । कौटिल्यले कूटनीति र शासनकलाका तीन मूल स्तम्भ धन, सेना र जन बललाई मान्छन् । यी तीन स्तम्भमध्ये धनलाई सबैभन्दा शक्तिशाली ठान्छन् । उनले भनेका छन्, ‘ढुकुटीको बलबाटै सेना र सैन्य शक्तिको उत्पन्न र विकास हुन्छ ।’
कौटिल्यको दृष्टिकोणलाई यथार्थवादी मात्र होइन, केही हदसम्म ‘प्रभुत्ववादी र आक्रामक’ शासकीय र विदेश नीतिको मोडेलको रूपमा पनि व्याख्या गरिन्छ । जसलाई आजका केही पश्चिमी शक्ति र तिनका सहयोगी राष्ट्रहरूले व्यवहारमा प्रयोग गरिरहेका छन् । कौटिल्यका अनुसार यदि प्रतिस्पर्धाबाट कुनै देशलाई पराजित गर्न सकिएन भने प्रतिद्वन्द्वीलाई विभिन्न प्रकारका प्रलोभन देखाएर भए पनि आफ्नो जित तथा स्वार्थ पूरा गर्नु पर्छ । धन शत्रुलाई प्रभावित वा आकर्षित गर्ने प्रमुख साधन हो, जसको माध्यमबाट राज्यशक्तिले प्रतिद्वन्द्वीलाई आफ्नो वशमा पार्ने काम गर्छ । त्यस कारण सैन्य शक्ति आर्थिक क्षमतापछि दोस्रो स्थानमा रहन्छ । यो नै कौटिल्यको कूटनीतिको मुख्य रणनीति हो । आधुनिक पुँजीवादी तथा वैशिक व्यवस्थाले पनि यिनै सिद्धान्तलाई परिष्कृत रूपले अवलम्बन गरेको देखिन्छ । सैन्य रणनीतिज्ञले समेत यही ढाँचालाई व्यवहारमा ल्याउँछन् ।
आधुनिक यथार्थवादीले आफ्नो रणनीति तीन ‘सी’ मा आधारित गरेका छन् । पहिलो ‘सी’ (कन्भिन्स) अर्थात् सम्झाइबुझाइ गरेर विपक्षीलाई आफ्नो प्रभावमा ल्याउनु हो । यदि पहिलो ‘सी’ अर्थात् सम्झाइबुझाइले काम नगरेमा, दोस्रो ‘सी’ (कन्फ्युज) को प्रयोग गर्नु पर्छ । अर्थात् प्रतिद्वन्द्वीलाई विभ्रममा पार्नु पर्छ । शत्रुलाई भ्रमित पार्नु भनेको पनि उसमाथि विजय प्राप्ति गर्नु नै हो किनभने भ्रमित दुश्मनले धेरै समयसम्म प्रतिस्पर्धा गर्न सक्दैन र आफ्नो जित सुनिश्चित हुन्छ । यदि दोस्रो रणनीतिले पनि काम गरेन भने मात्र तेस्रो ‘सी’ (कन्फ्रन्टेसन) अर्थात् शैन्य शक्तिको प्रयोग हो र त्यसको अर्थ युद्धको घोषणा हो । यी तीन चरणको अन्तिम नतिजा चौथो ‘सी’ (कन्क्वेयर अर्थात् विजय प्राप्त गर्नु) हो । यस दृष्टिकोण अनुसार कुनै पनि राष्ट्रले कूटनीति, वार्ता, आर्थिक शक्ति र सैन्य क्षमता प्रयोग गरेर आफ्ना प्रतिद्वन्द्वीलाई प्रभाव तथा नियन्त्रणमा राख्नु पर्छ । सामान्यतया भनिन्छ, ‘सेना र सैन्य शक्तिको प्रयोगबाट प्राप्त हुन नसक्ने र नसकेको उपलब्धि कूटनीतिको माध्यमबाट प्राप्त गर्न सकिन्छ ।’
कूटनीति एक प्रकारको शान्त युद्ध हो, जसले अरूमाथि प्रभुत्व कायम राख्छ र राष्ट्रिय स्वार्थको रक्षा गर्छ । चिनियाँ नेता चाउ ऐनलाइले भनेका छन्, “कूटनीति पनि अन्य प्रकारको युद्ध नै हो ।” अन्तर्राष्ट्रिय क्षेत्रमा कूटनीतिज्ञलाई राष्ट्रिय स्वार्थ र सुरक्षाका अग्रपङ्क्तिका सिपाही भन्ने गरिन्छ । कूटनीति असफल भयो भने मात्र सेनाको परिचालन तथा प्रयोग गरिन्छ । सेनाको प्रयोग पछि र युद्ध समाप्तिपछिको व्यवस्थापनको लागि पनि कूटनीतिको नै आवश्यकता हुन्छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीति नै पहिलो र अन्तिम उपाय हो । प्रतिद्वन्द्वीलाई आफ्नो पक्षमा ल्याउन उच्चस्तरीय कूटनीतिक कौशलको आवश्यक पर्छ । आर्थिक शक्ति, सैन्य क्षमता र भौगोलिक हैसियतले वार्तामा बल प्रदान गर्छन् तर कूटनीतिज्ञको वार्ता कौशल, चातुर्यता र विषयको सूक्ष्म बुझाइ नै सफलताका मुख्य निर्णायक कारक हुन्छन । आधुनिक प्रभुत्ववादी रणनीतिज्ञहरूले प्रायःजसो धम्कीपूर्ण भाषा प्रयोग गरी प्रतिद्वन्द्वीलाई दबाबमा ल्याउने प्रयास गर्छन् । यो पनि आधुनिक यथार्थवादी विदेशनीति तथा कूटनीतिको एउटा महत्वपूर्ण रणनीति हो तर यो रणनीति दिगो हुँदैन ।
मनाउने र विश्वस्त पार्ने कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने सबैभन्दा कम जोखिमयुक्त उपाय हो । यस्तो प्रयास विफल भएपछि पनि राष्ट्रहरूले तत्कालै सैन्य शक्ति प्रयोग गर्दैनन्, किनभने सेनाको प्रयोग र युद्ध बढी जोखिमपूर्ण हुन्छ । सैन्य प्रयोग गर्नुअघि पनि केही दबाबमूलक कूटनीति र उपायको अवलम्बन गर्ने गर्छन् । जसमा धम्की, प्रचार युद्ध, दुष्प्रचार, आर्थिक नाकाबन्दी तथा व्यापारिक प्रतिबन्ध जस्ता उपाय प्रयोग गरिन्छ ।
भनिन्छ, ‘जब मनाउने र विश्वास जित्ने प्रयास असफल हुन्छन्, प्रतिद्वन्द्वीलाई भ्रममा पार्नु उपयुक्त हुन्छ ।’ किनभने भ्रमित शत्रुले न त सामना गर्न सक्छ न प्रतिस्पर्धा नै । त्यसैले भ्रम सिर्जना गर्नु एक प्रकारले युद्ध जित्नु जस्तै हो । यस रणनीतिमा मिडिया सबैभन्दा शक्तिशाली हतियार हो । प्रचार युद्धमा मिडिया अर्थात् सञ्चारका विभिन्न साधन जस्तै पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स आदिको प्रयोग गरिन्छ, जसले धारणा निर्माण (एजेन्डा सेटिङ) गर्नुका साथै शत्रुको मनोबल कमजोर पार्छ र अन्तर्राष्ट्रिय वातावरणलाई आफ्नो अनुकूल बनाउँछ । प्रेस स्वतन्त्रताको दुहाइ दिने पश्चिमी राष्ट्रसमेत आफ्नो राष्ट्रिय हितसम्बन्धी संवेदनशील मुद्दामा मिडिया नियन्त्रण गर्न पछि पर्दैनन् । इराक युद्धको समयमा देखिएको ‘इम्बेडेड जर्नालिज्म’ (पत्रकारलाई सैनिकसँगै युद्धको अग्रमोर्चामा राखी सूचना सम्प्रेषण गर्न लगाउने तरिका) यसको स्पष्ट उदाहरण हो । जहाँ पत्रकार सैन्य एकाइसँगै सहभागी गराइन्थे र उनीहरूको रिपोर्ट प्रकाशनअघि कडा छानबिन हुन्थ्यो ।
धेरै देशमा विशेष गरी विदेश नीति तथा राष्ट्रिय सुरक्षाका संवेदनशील विषयमा सरकारका निर्णयबारे मिडिया मौन बस्छन् वा समर्थन गर्छन् । पश्चिमी देशका मिडियाले अन्तर्राष्ट्रिय घटनालाई आफ्नै हित अनुसार प्रस्तुत गर्ने गरेको आरोप पनि व्यापक छ । भारतमा पनि यस्तै प्रवृत्ति पाइन्छ । छिमेकी राष्ट्रसँग गलत नीति अवलम्बन हुँदासमेत भारतीय मिडिया प्रायः मौन बस्छन् वा सरकारको नीतिलाई समर्थन गर्छन् । मानव अधिकार उल्लङ्घनका केही गम्भीर घटनामा समेत मिडियाले आलोचना गर्नुको सट्टा त्यस्ता कार्यलाई सामान्य र न्यायोचित ठह¥याउने प्रवृत्ति देखिन्छ तर यिनै मिडियाले अन्य देशका साना साना घटनामा ठुलो विवाद सिर्जना गर्छन् । पुँजीवादी देशमा मिडिया सरकारी स्वामित्वमा नभए पनि ठुला व्यावसायिक घरानाले नियन्त्रण गर्छन्, जसका हित प्रायः राज्यका रणनीतिक हितसँग मेल खान्छन् ।
अन्तर्राष्ट्रिय राजनीतिमा मनाउने, विश्वासमा लिने र भ्रममा पार्ने सबै उपाय असफल भएपछि मात्र द्वन्द्व अथवा युद्ध (कन्फ्रन्टेसन) को रणनीति अपनाइन्छ । यस चरणमा सैन्य शक्तिको प्रयोग हुन्छ तर सेना मात्र युद्ध जित्न पर्याप्त हुँदैन । प्रचार सूचना–नियन्त्रण र धारणा–निर्माण त्यत्ति नै महत्वपूर्ण हुन्छन् । युद्धपछि पनि विजय दिगो बनाउन प्रचार–सामथ्र्य आवश्यक हुन्छ, जसमा मिडियाको भूमिका निर्णायक हुन्छ । यही कारणले शक्तिशाली राष्ट्रहरूले आफ्नो समर्थनमा जनधारणा निर्माण गर्न र अनुकूल वातावरण सुनिश्चित गर्न विभिन्न माध्यमबाट मिडियालाई प्रभावमा राख्छन् । यसरी हेर्दा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रता पश्चिमी शक्तिका लागि हस्तक्षेपका उपकरण बन्दै गएका छन् ।
यथार्थवादी विश्वदृष्टिमा आदर्श, नैतिकता, मूल्य र मान्यताभन्दा शक्ति नै प्रधान हुन्छ । चौथो शताब्दीका चिन्तक कौटिल्यले प्रतिपादन गरेको सिद्धान्त नै आज आधुनिक यथार्थवादका नाममा अन्तर्राष्ट्रिय व्यवहारमा लागु भएको देखिन्छ । शक्ति धनबाट र धन शक्तिबाट उत्पन्न हुन्छ । यो परस्पर–निर्भर चक्र आजका पुँजीवादी व्यवस्थाले अझ परिष्कृत रूपमा अपनाएका छन् । आधुनिक शक्तिशाली राष्ट्रहरूका लागि धन र शक्ति लगभग समानार्थक बनेका छन् । मिडिया र प्रविधि प्रचार युद्धका हतियार बनेका छन्, जुन विश्व नियन्त्रण गर्ने उद्देश्यले प्रयोग गरिएका छन् । यसरी नै कूटनीति र शासनकलामा यथार्थवादको वास्तविक रूप वर्तमान विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा स्पष्ट रूपमा देखिएको छ ।