• १३ साउन २०८१, आइतबार

विश्वविद्यालय थपिनुको औचित्य

blog

गत साता काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको अभिव्यक्ति दिनुभयो । यसले एक खालको बहसको सुरुवात नै गरायो । के नेपालमा साँच्चै नै थप विश्वविद्यालयको आवश्यकता हो ? के हाम्रा विश्वविद्यालयले विश्वविद्यालयमा गर्ने कार्य नगरेर नयाँ विश्वविद्यालय खोल्न लागिएको हो ? के हाम्रा विश्वविद्यालयलाई चाहिने मात्रामा विद्यार्थी उच्च शिक्षामा छन् त ? हाम्रो प्राज्ञिक उन्नयनको काम सन्तोषजनक छ त ? के हाम्रो उच्च शिक्षाले ज्ञान अर्थव्यवस्थालाई टेवा पु¥याएको छ त ? अथवा नेपालबाट दिनानुदिन विदेशी विश्वविद्यालयमा पढ्न जाने विद्यार्थी रोक्नका लागि हामीले नयाँ विश्वविद्यालय खोल्न लागेका हौँ वा विदेशी विद्यार्थीको गन्तव्यका रूपमा नेपाललाई विकास गर्ने हेतुले यसो भनिएको हो ? 

देशको समग्र आर्थिक विकासका लागि उद्यमशील र प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । नेपालका विश्वविद्यालयमा परम्परावादी सिकाइ शिक्षणले न त विद्यार्थीलाई सीप प्रदान गर्न सक्यो न त आर्थिक उपार्जनको माध्यमको विकास नै गर्न सक्यो । यस्तो अवस्थामा नेपालमा प्राविधिक धारको शिक्षालयमार्फत अटो–मोबाइल, कार्पेन्टर, प्लम्बिङ, सिँचाइ, पशुपालन, कृषि, परम्परागत सीप आदिका प्राविधिक शिक्षालय स्थापना गरी उच्च शिक्षाका विद्यार्थीलाई उद्यमशील र आर्थिक रूपमा सबल तथा सक्षम बनाउने कार्यादेशसहितको प्राविधिक धारका उच्च शिक्षालयको स्थापना गर्नु आवश्यक छ । जसले सीप सिकाइ वृद्धि गरी स्वरोजगारीको सिर्जना गर्नुका साथै आर्थिक रूपमा सबल र सक्षम बनाउन सहयोग गर्छ । यसका साथै दिनानुदिन विदेशिने विद्यार्थीलाई रोक्नका लागि प्राविधिक शिक्षाको आवश्यकता छ; जुन उच्च शिक्षामा मात्र होइन, विद्यालय तहबाट नै उपलब्ध गराउनु आवश्यक छ । 

नेपालमा भएका अनुसन्धान तथा अन्वेषणले आम मानिसको जीवन र जीविकोपार्जनसँग सम्बन्धित विषयवस्तुलाई जोड्नुका साथ उठान गर्न सकेका छैनन् । आजको उच्च शिक्षाले विश्वविद्यालयका स्नातकलाई आलोचनात्मक, खोजमूलक र अनुसन्धानमूलक बनाउनु आवश्यक छ । यसका लागि विश्वविद्यालयले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ज्ञान आर्जन र यसको प्रयोगको बदलिँदो विश्वपरिवेशमा बिग डेटा, मेसिन लर्निङ तथा आर्टिफिसियल इन्टिलिजेन्सको उपयोगजस्ता विषयवस्तुलाई अध्यापन गराई अन्तर्राष्ट्रिय जगत्का विद्यार्थीलाई समेत आकर्षण गर्नु आवश्यक छ । 

हाल नेपालमा ११ वटा केन्द्रीय विश्वविद्यालय छन् । विश्वविद्यालयसरहका प्रतिष्ठानहरू पनि छन् । ती विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हेर्ने हो भने कतिपयमा एक हजार जना पनि छैनन् । विदेशी विद्यार्थीलाई आकर्षण गर्ने कुरा त कागजमा मात्रै सीमित रहेको पाइन्छ । नेपालमा रहेका विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरका विद्यार्थी आकर्षण गर्ने कुनै कार्यदिशा तयार गरेका छन् त ? यसो हुन सकेको छैन । विदेशी विद्यार्थीको उपस्थिति न्यून नै छ । नेपालमा स्थापना भएका कतिपय विश्वविद्यालय जुन उद्देश्यका साथ स्थापन गरिएको थियो, ती विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको शोधपत्र र अनुसन्धान हेर्दा ती विश्वविद्यालयले आफ्नो उद्देश्य नै भुलेको भान हुन्छ । यस्तो अवस्थामा थप विश्वविद्यालय खोल्नुको कुनै औचित्य नै छैन । 

नेपालको विश्वविद्यालयमा भएका कुन अनुसन्धानले आम नागरिकको जीवनमा प्रत्यक्ष फरक पार्ने वा असर गर्ने कुरा गरेको छ ? यसका बारेमा गहन रूपमा छलफल गरौँ । यसका साथै नेपालमा विश्वविद्यालयबाट प्रकाशित हुने जर्नलको विशिष्टीकरणको समेत मूल्याङ्कन गरौँ । उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई शोध र अनुसन्धानमा निपूर्ण बनाउने कार्यमा विश्वविद्यालयलाई बढी जिम्मेवार बनाऔँ । देशका लागि आवश्यक पर्ने अनुसन्धानको कार्य विश्वविद्यालयबाट नै हुने गरी वातावरण सिर्जना गरौँ ।

विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन, शोध र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने काम राजनीतिक दलको हो वा प्राज्ञिक वर्गको ? प्राज्ञिक वर्गले आफ्नो स–सानो फाइदा तथा राजनीतिक नियुक्तिलाई प्राथमिकतामा राखेर विश्वविद्यालयमा अध्ययनरत लाखौँलाख विद्यार्थीको भविष्यलाई दाउमा राख्न पाइन्छ ? यसतर्फ राजनीतिक दल र तिनका नेतृत्वले पनि सोच्नु आवश्यक छ । विश्वविद्यालयलाई राजनीतिभन्दा बाहिर राखौँ । प्राज्ञिक उन्नयनको काम गर्न दिऊँ । विश्वविद्यालयलाई उत्कृष्टको केन्द्रका रूपमा विकास गरौँ । यसका लागि नेपालमा रहेका विश्वविद्यालयलाई नेपालको कला, साहित्य, संस्कृति, भूगोल, इतिहास आदिका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई चिनाउन सक्ने वातावरण बनाउन अग्रसर बनाऔँ । 

समयको मागअनुसारको विषयवस्तुलाई पाठ्यक्रमको मूलधारमा ल्याई अध्यापन गर्ने प्रणालीको विकास गरौँ । यसो गर्न सकियो भने मात्र हाम्रा विश्वविद्यालयले उत्पादन गरेका स्नातक अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्छन् र नेपालको विकासका लागि टेवा पु¥याउँछन् अन्यथा शिक्षामाथि राजनीतिक दबदबा राखियो भने न त संविधानले भनेझँै विश्वविद्यालय स्वायत्त हुन्छन् न त तिनले हाम्रो समाजका लागि आवश्यक पर्ने सक्षम र सबल नागरिक नै उत्पादन गर्न सक्छन् । 

दिगो भविष्य निर्माण गर्नका लागि हामीलाई डेटाभन्दा बढी अनुसन्धान गर्ने आधार, रिपोर्ट र ड्यासबोर्ड आवश्यक पर्छ भने अर्कोतर्फ मानव पुँजीको प्रबन्ध गर्नु जरुरी देखिन्छ । मानव पुंँजीको प्रबन्धले देशलाई आवश्यक पर्ने अनुसन्धान र अन्वेषणको खाका कोर्न मद्दत गर्छ । यदि त्यसो गर्न सकियो भने मात्र हामीले गरेका अनुसन्धानले आम नेपालीको जीवनस्तर उकास्न सहयोग पु-याउँछ । अतः अब नेपालका विश्वविद्यालय, रिसर्च इन्स्टिच्युट, रिसर्चलगायतले आम मानिसको जीवनसंँग सम्बन्धित मुद्दा र विषयवस्तुको घेरामा रहेर अनुसन्धान तथा अन्वेषण गर्ने हो भने पक्कै पनि हामीले गरेका अनुसन्धानले आम नागरिकको सुनौलो भविष्य तयार गर्न र देशको विकासको मार्ग प्रस्तुत गर्ने खाका तयार गर्न सक्छ । 

हाम्रा विश्वविद्यालयलाई हेर्ने हो भने विश्वविद्यालयले जुन प्रकारका प्राज्ञिक उन्नयनको कार्य गर्नुपर्ने हो, सो हुन सकिरहेको छैन । यसको अपजस यसको नेतृत्व गर्ने सरकारप्रमुखको मात्र रहँदैन । विश्वविद्यालयका उपकुलपति, पदाधिकारी, डिनलगायत प्राध्यापक नै स्वयं प्राज्ञिक उन्नयन कार्यका कति कमजोर र उदासीन रहेको छ भन्ने कुरालाई आत्मसमीक्षा गर्नु आवश्यक छ । अतः हाम्रा विश्वविद्यालयको उत्पादित जनशक्ति समयसापेक्ष नहुँदा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने केन्द्रका रूपमा चित्रित भएको आभास हुन्छ । नेपालको उच्च शिक्षाको प्रणालीलाई आमूल रूपमा परिवर्तन गरी देशको समग्र आर्थिक र सामाजिक परिवर्तनको वाहकका रूपमा विकास गर्दै लैजानु आवश्यक छ । त्यसैले पहिला हाल स्थापित भएका विश्वविद्यालयलाई सक्षम र सबल बनाऔँ । नयाँ सोच र शैलीले विश्वविद्यालय चलाआँै । थप विश्वविद्यालय आवश्यक हो भने त्यसपछि सोचौँला ।

Author

डा. कृष्णप्रसाद पौडेल