घोराही समाचारदाता
घोराही, मङ्सिर २९ गते । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा पुल निर्माणको ठेक्का लागेर म्याद सकिन करिब एक महिना मात्र बाँकी रहँदासमेत काम सुरु हुन सकेको छैन । विसं २०८२ पुसभित्र निर्माण सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको पुल अझै सुरु हुन नसकेको हो । घोराही र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हापुरखोलामा १५० मिटर लम्बाइको चार लेन पुल निर्माणका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौता अनुसार पुल निर्माणको अन्तिम चरणको काम हुनुपर्ने भए पनि अहिलेसम्म काम हुन नसकेको पुल सेक्टर कार्यालय नेपालगन्ज, बाँकेका इन्जिनियर रामकिसुन थारू बताउनुहुन्छ । निर्माण व्यवसायीलाई पटक पटक ताकिता गर्दा पनि पुल निर्माण सुरु हुन नसकेको उहाँले बताउनुभयो ।
पुल निर्माणको जिम्मा पाएको शर्मा सगुन जेभीका प्रतिनिधि सुमन मिश्रले भने पुल निर्माण सुरु गर्ने तयारीमा रहेको बताउनुभयो । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री, मेसिनरी सामग्रीसँगै कामदारसमेत पुल निर्माणस्थलमा आइसकेकाले तत्काल काम सुरु गर्ने तयारी भएको उहाँले भन्नुभयो । “ग्वारखोलाको दुई ठाउँमा पुल निर्माण भइरहेका कारण हापुरखोलामा केही ढिलाइ हुन पुगेको हो । ग्वारखोलाको जस्पुरमा पुल निर्माण सकिएकाले अब हापुरखोलामा काम गर्छौं,” उहाँले भन्नुभयो ।
हापुरखोलामा पुल निर्माणका लागि ठेक्का भएको सगुन शर्मा जेभीले नै घोराही–तुलसीपुर सडक अन्तर्गत कालाखोलामा चार लेन र ग्वारखोलामा दुई लेन पुल निर्माणको समेत ठेक्का पाएको छ । ग्वारखोलामा पुल निर्माणको करिब १२ प्रतिशत काम गरे पनि कालाखोलामो काम अझै सुरु हुन सकेको छैन । कालाखोलामा पुल निर्माण सुरु गर्नलाई तत्काल डाइभर्सन निर्माण गर्नुपर्ने र त्यसका लागि विद्युत् कार्यालयले पोल सार्न ढिलाइ गरिदिएका कारण काम अघि बढाउन समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि मिश्र बताउनुहुन्छ । समयमा पुल निर्माण हुन नसके पनि पुल सेक्टर कार्यालय नेपालगन्जले भने तीन वटा पुलको दुई÷दुई वर्ष म्याद थपका लागि विभागमा फाइल पठाएको इन्जिनियर थारूको भनाइ छ ।