राजकुमार भट्टराई
खोटाङ, मङ्सिर २९ गते । बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो ।
कृषकहरुलाई बदाम उत्पादनमा हौसलाका लागि नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । यस वर्ष हलेसी तुवाचुङ नगरपालिकामा दुई सय ६१ किसानले तीन हजार एक सय २८ मुरी बदाम उत्पादन गरेका छन् । उत्पादनको आधारमा नगरपालिकाबाट किसानले १२ लाख चार सय रकम प्रोत्साहन स्वरुप पाएका हुन् ।
सुरुमै अनुदान दिनुभन्दा उत्पादनका आधारमा प्रोत्साहन रकम दिँदा बास्तबिक किसानले प्राप्त गर्ने भएकाले नगरपालिकाले यो नीति लिएको प्रमुख विमला राईले बताउनुभयो । अघिल्लो वर्षबाट नगरपालिकाले बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गर्न सुरु गरेको हो । अघिल्लो वर्ष २०८१ मा एक सय ५८ किसानले ६ लाख ३२ हजार ९ सय प्रोत्साहन रकम पाएका थिए । प्रोत्साहन रकम पाउने भएपछि यस वर्ष बदाम उत्पादन गर्ने किसान थपिएको नगरपालिकाले जनाएको छ ।
अघिल्लो वर्ष नगरपालिकामा एक हजार पाँच सय ८३ मुरी अर्थात ४७ मेट्रिक्टन बदाम उत्पादन भएकोमा यस वर्ष ९३.८४ मेट्रिक्टन बदाम उत्पादन भएको कृषि प्राविधिक रबिन राउतले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर २ डिकुवा, ५ दुर्छिम, ७ महादेवस्थान, ८ धितुङ र ११ राजापानीमा बदाम उत्पादनहुँदै आएको छ । दुर्छिमका १३ किसान, महादेवस्थानका ४३ र धितुङका १ सय ५८ किसानलाई आइतबार नगरपालिकामा प्रोत्साहन रकम प्रदान गरिएको हो । डिकुवाका २४ र राजापानीका २४ किसानलाई वडामै पुगेर प्रोत्साहन रकम प्रदान गरिने बताइएको छ ।
यस वर्ष सबैभन्दा धेरै धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम उत्पादन गरेर १३ हजार तीन सय प्रोत्साहन रकम पाउनुभएको छ । नगरपालिकाले प्रोत्साहन रकम दिएपछि अघिल्लो वर्ष भन्दा यस वर्ष आफुले बदाम उत्पादनमा वृद्धि गरेको बुढाथोकी बताउनुहुन्छ । अघिल्लो वर्ष ३५ मुरी बदाम उत्पादन गर्नुभएका बुढाथोकीले यस वर्ष ४१ मुरी उत्पादन गर्नुभएको छ ।
पाँच मुरी बदाम फलाउने किसानलाई नगरपालिकाले दुई हजार पाँच सय प्रोत्साहन रकम प्रदान गर्ने कार्यविधि बनाएको छ ।
सोभन्दा बढी फलाउने किसानले प्रत्येक मुरीको तीन सयका दरले रकम पाउने छन् । हलेसी तुवाचुङ नगरपालिकामा उत्पादन भएका बदाम जिल्लाका सबै ठाउँ र जिल्ला बाहिर छिमेकी जिल्लाका बजारमा समेत पुग्ने गरेको छ । त्रि–धार्मिक स्थल हलेसीमा विश्वका मानिसहरु आउने भएकाले बदामको बजारीकरणमा समस्या छैन । व्यवसायिहरुले किसानका घरबाटै बदाम खरिद गरेर लाने गरेका छन् । बदाम हलेसीको कोसेलीकोरुपमा पनि मानिसहरुले लाने गरेका छन् । जसकारण बदामको प्रवर्धनका लागि नगरपालिकाले उत्पादनमा आधारित रकम प्रदान गर्न सुरु गरेको प्रमुख विमला राईले बताउनुभयो ।