नवराज नेपाली
बागलुङ (गलकोट), मङ्सिर २७ गते । गण्डकी प्रदेशस्तरीय सोह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिनुभयो ।
“अहिले पालिका र जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेका छन्, प्रदेशस्तरीय प्रतियोगिता बागलुङमा गर्ने निर्णय भइसकेको छ, मिति तय हुन बाँकी छ”, उहाँले भन्नुभयो । शर्माका अनुसार १५ औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोरखामा भएको थियो ।
पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रूपमा जिल्लामा गर्ने गरिएको र यस बाग्लुङको बाङेचौर खेलमैदान खेल खेलाइने सदस्यसचिव शर्माले बताउनुभयो । प्रतियोगिता सञ्चालनदेखि खेलका लागि बजेट तथा कार्यक्रमलाई विकेन्द्रित गर्दै लगिएको उहाँको भनाइ छ । समयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजन नगर्ने स्थानीय तहलाई ध्यानाकर्षणसमेत गराएको सदस्य सचिव शर्माले बताउनुभयो ।
उहाँले प्रदेश खेलकदुर परिषद्ले खेलाडी कल्याण कोषमार्फत खेलाडीको वृत्तिविकास र सेवासुविधामा लगानी बढाइएको जानकारी दिनुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडी जिल्ला, जिल्लाबाट छनोट भएका खेलाडी प्रदेश र प्रदेशबाट छनोट भएका खेलाडी केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने बताइएको छ ।