• २७ मङ्सिर २०८२, शनिबार

संरक्षणमा नयाँ पहल : पण्डितपुरको उत्खनित प्राचीन भग्नावशेष खुल्ला नै राखिने

blog

उत्खननमा फेला परेका बौद्कलिन शहरका भग्नावशेष र पूर्वाधार । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर २७ गते  ।
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ । विगतमा उत्खननपछि भेटिएका स्थानहरूलाई पुनः पुरेर जाने गरेकोमा, यसपटक स्थानीय प्रशासन (प्रमुख जिल्ला अधिकारीसहित) र रामग्राम नगरपालिकाको आग्रह र सहमतिमा भग्नावशेषलाई खुल्ला राखिएको हो ।

जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकाले स्थललाई खुल्ला राख्न आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएपछि यो स्थल आगामी दिनमा बौद्ध तिर्थयात्री, पर्यटक र अनुसन्धानकर्ताका लागि महत्त्वपूर्ण आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

उत्खननबाट महत्त्वपूर्ण उपलब्धी
करिब पाँच कट्ठा क्षेत्रफलमा फैलिएको इनारसहितको कुशाणकालिन बस्ती तथा भवनको भग्नावशेष भेटिएको छ । उत्खननबाट भेटिएका बुद्ध जन्मनु पूर्वकालका सामग्रीहरूको कार्बन डेटिङ (समय परीक्षण) ले ती वस्तुहरू इसापूर्व ६०० वर्ष पुराना रहेको देखाएको छ । यसले पण्डितपुर कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको पुरातत्व टोलीले जनाएको छ । प्राचीन शहरको केन्द्र र बाहिरी भाग गरी बस्तीहरू ६० बिघा क्षेत्रफलमा फैलिएको अनुमान गरिएको छ ।
बौद्धमार्गीका लागि कोलिय गणराज्यको महत्त्व

कोलिय गणराज्य प्राचीन कोलनगर (पण्डितपुर) मा बौद्ध इतिहासमा अत्यन्त महत्त्वपूर्ण छ । भगवान गौतम बुद्धकी आमा महामाया, पालनपोषण गर्ने प्रजावती गौतमी र उनकी पत्नी यशोधरा को जन्मस्थल यही कोलनगर क्षेत्र मानिन्छ ।

यस गणराज्यले स्थापना गरेको रामग्राम स्तुप लाई संसारकै एकमात्र मौलिक स्तुप मानिन्छ। यस क्षेत्रको खोजीले प्राचीन शहर चक्रीय प्रणालीमा बसालिएको समेत अनुसन्धानले देखाएको छ ।