इमान सिं राना
रामपुर (पाल्पा), मङ्सिर २७ गते । पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
उपचारको क्रममा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको हो । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दरको विकको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शुक्रबार निस्दी गाउँपालिका–४, ठोक्सिङबासका ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी–७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु र नवरपुर मध्यविन्दु नगरपालिका–१३ का ३१ वर्षीय बुद्धी माया विकको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो । मृतकमध्ये सुन्दर र बुद्धीमाया श्रीमान, श्रीमति हुनुहुन्छ ।
दुर्घटनामा निस्दी गाउँपालिका–४ का २८ वर्षीय मिना कुमारी सुनारी, सोही स्थानका ९ वर्षीय नेवराज खाम्चा, ५ वर्षीय सालिन खाम्चा, ७३ वर्षीय नर बहादुर सुनारी, ७२ वर्षीय भुमिसरा सुनारी, नवलपुर मध्यविन्दु नगरपालिका १३ का १० वर्षीय लविस सुनार र प्रिन्सा सुनार घाइते हुनुभएको छ । घाइतेमध्ये लविस र प्रिन्सा सुन्दर र बुद्धीमायाको छोराछोरी हुनुहुन्छ । उहाँहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ ।
नवलपुरको अरुणखोला बाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप रामपुर–मित्याल–अरुणखोला सडकखण्डअन्तर्गत निस्दी–४, चिउरीबास नजिकै शुक्रबार बिहान १० बजे दुर्घटना भएको थियो । घाइतेहरु मध्ये ३ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल कावासोती नवलपुर र पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ । चार जना उपचार पश्चात डिस्चार्ज भइसकेको छ ।
उकालो सडकमा जिपले नतान्ने भएकाले रोकेर यात्रु ओराल्ने क्रममा जिप एकासी व्याक भएर दुर्घटना भएको थियो । फोर्स जिप सडकबाट एक हजार एक सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।