• २७ मङ्सिर २०८२, शनिबार

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई

blog

बिजेता बेनी नगरपालिकाका खेलाडीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, मङ्सिर २७ गते । 
म्याग्दीको बेनीमा शुक्रबार साँझ सम्पन्न भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र छ कास्य पदक सहित बेनी नगरपालिका बिजयी भएको हो । आठ स्वर्ण, पाँच रजत र तीन कास्य पदक जितेको अन्नपूर्ण गाउँपालिका दोस्रो भएको समितिका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

गत वर्षको बिजेता रघुगङ्गा गाउँपालिका छ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित तेस्रो हुन सफल भयो । दुई दिनसम्म सञ्चालन र छ वटा स्थानीय तह सहभागी प्रतियोगिताको बिजेताले रनिङ शिल्ड, ट्रफी र मेडल सहित नगद २० हजार प्राप्त गरेको छ । दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा विधागत रुपमा प्रथम हुने पालिका र उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको छ ।

पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

भलिबल, कवड्डी, एथलेटिक्स, कराते र तेक्वान्दो बिधाका ४२ वटा खेलमा चार सय ५० जना खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भाग लिनका लागि ९८ जना खेलाडी छनोट हुने भएका छन् ।

स्थानीय तहबाट छनोट भएका खेलाडीहरु मध्यबाट प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनोटका लागि प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन नगरेपनि समितिले आफै स्रोत जुटाएर जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।