• २७ मङ्सिर २०८२, शनिबार

भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा नियन्त्रणमा

blog

प्रहरीले बरामद गरेको अवैध कपडा । तस्विर : सिराज खान

सिराज खान
नेपालगन्ज, मङ्सिर २७ गते ।
जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपियाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।

भारतबाट हुने गरेको अवैध आयातलाई रोक्ने अभियाननै चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका पाँच लाखभन्दा बढीका सामानहरू बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अवैध रुपमा भारतबाट ल्याइएका पाँच लाख १५ हजार ८६० रुपियाँका लत्ताकपडा, तेल, खाद्यान्न तथा जुत्ता लगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद गरेको सबै अवैध सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो ।

उहाँका अनुसार पछिल्ला दिनहरुमा अवैध तस्करीविरुद्ध प्रहरीले निगरानी  र बरामद अभियानलाई तीव्र बनाएकोले पटक पटक अवैध सामानहरु बरामद हुने गरेका छन् ।

बाँकेमा प्रहरीले अवैध तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको र यस्तो गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ ।