• ३० वैशाख २०८१, आइतबार

मुस्ताङमा थ्रीजी सेवा विस्तार

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २५ गते । मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलिकमको थ्रीजी मोबाइल नेटवर्क विस्तार भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ ताङ्वे र थासाङ गाउँपालिका –२ को छाक्ताङमा नेपाल टेलिकमको मिनिटावर स्थापना गरेर ताङ्वेमा थ्रीजी सेवा विस्तार गरिएको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले बताउनुभयो । थासाङ गाउँपालिकाको छाक्ताङमा साउन पहिलो हप्ताबाट सेवा विस्तार हुने श्रेष्ठको भनाइ छ । 

प्रमुख श्रेष्ठले भन्नुभयो, “छुसाङसम्म हाम्रो नेटवर्क थियो त्यहाँदेखि ताङ्वेसम्म साढे ३ किलोमिटर लामो फाइबर र टावरमा आवश्यक पर्ने ब्याट्री प्रदेश सभा सांसद चन्द्रमोहन गौचनको सांसद विकास कोषको बजेटबाट खरिद गरेर जडान कार्य सकिएको हो । थ्रीजी नेटवर्क विस्तारका लागि आवश्यक पर्ने टावर राख्ने पोल स्थानीय समितिले व्यवस्थापन गरेपछि अन्य इकुभमेन्ट टेलिकमले जोडेको श्रेष्ठले बताउनुभयो । 

आर्थिक वर्ष २०७८–७९ मा गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट विनियोजित ३ लाख रुपियाँ बजेटबाट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा –३ ताङ्वेमा टावर राखेपछि त्यस क्षेत्रका जनताले द्रुत गतिको थ्रीजी मोबाइल सेवा उपभोग गर्न सहज बनेको स्थानीयको भनाइ छ ।

नेपाल टेलिकमको ठूलो टावर भएको भए केन्द्रदेखि नै बजेट आएर निर्माण हुने भएपनि मिनि टावरका लागि संसद् विकास कोषको बजेट त्यसमा हाल्ने भनेपछि हामीले अन्य इकुपमेन्ट लगेर टावर निर्माण गरेका हौं नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले भन्नुभयो ।

मुस्ताङ जिल्लाभित्रका कुल ९६ वटा गाउँमध्ये अधिकांश गाउँमा थ्रीजी मोवाइल सेवा नेटवर्क पुगिसकेको छ । मुस्ताङको वाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको घ्याकर, थासाङको टुकुचे, छाक्ताङ र ताङ्वेमा थ्रीजी मोबाइल नेटवर्क विस्तारसँगै जिल्लाको दुर्गमका जनताको टेलिकम नेटवर्क सुविधा सर्वसुलभ भएको सांसद चन्द्रमोहन गौचनले बताउनुभयो ।

अब वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ को साङ्तामा थ्रीजी मोबाइल नेटवर्क सेवा नपुगेको र निकट भविष्यमा सम्बन्धित निकायको समन्वय र पहलमा साङ्ता गाउँमा मोबाइल नेटवर्क सेवाको पहुँच पु¥याउन आवश्यक स्थानमा टावर निर्माण गर्न आफुले अग्रसरता लिने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले बताउनुभयो । 

लेते, जोमसोम, मुक्तीनाथ, स्याङ्बोचे र लोमन्थाङमा फोरजी सञ्चालनमा रहेको र अब केही फोरजीकै तयारी भइरहेको छ । खिङ्गा र मार्फामा फोरजीको टावर बनिसकेको हुनाले अब फोरजी विस्तारलाई नै अगाडि बढाइने टेलिकमका प्रमुख श्रेष्ठको भनाइ छ ।