• २७ मङ्सिर २०८२, शनिबार

‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

blog

लमजुङ समाचारदाता

लमजुङ, मङ्सिर २७ गते । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । ‘क्यानभासमा हिमाल’ शीर्षकमा मस्र्याङ्दी गाउँपालिकाको सभा हलमा गरिएको प्रदर्शनीमा २४ वटा चित्र राखिएका छन् । यो उहाँको तेस्रो एकल प्रदर्शनी हो । बुधबार र बिहीबार दुई दिनसम्म गरिने प्रदर्शनीमा राखिएका सबै चित्र मूर्त शैलीमा छन् ।  गाउँले परिवेश, संस्कृति र प्राकृतिक सुन्दरतामा देखिएका हिमाललाई मुख्य विषय बनाइएको छ ।

चित्रमा विभिन्न गाउँ, प्राकृतिक सुन्दरताका साथ हिमाल देख्न सकिन्छ । मस्र्याङ्दी गाउँपालिका–३, खुदी, काउलेमा जन्मनुभएका भीम कलाकारिता क्षेत्रमा ‘बाबु साइँला’ नामले परिचित हुनुहुन्छ । सानैदेखि चित्रकलामा रुचि राख्नुभएका साइँलाले हालसम्म तेल र पानी रङमा सयौँ चित्र कोरिसक्नुभएको छ । उहाँले सुरुमा व्यङ्ग्यात्मक चित्र प्रशस्त कोरेर समाजलाई सुसूचित बनाउने प्रयास गर्नुभयो । उहाँले २०६९ सालमा लमजुङमा ‘प्राकृतिक नेपाल’ शीर्षकमा एकल चित्रकला प्रदर्शनीसमेत गर्नुभएको थियो । दोस्रो पटक रोजगारीका लागि कोरिया पुगेका बेला चित्रकला प्रदर्शनी गर्नुभएको थियो । ललितकला क्याम्पसबाट स्नातक गर्नुभएका उहाँले आफ्नो भविष्य कला क्षेत्रमै देखेको बताउनुहुन्छ । प्रायः मानवीय संवेदनासँग जोडिएको मूर्त चित्र कोर्न मन पराउने साइँलाले यो प्रदर्शनीले स्थानीयस्तरमा कला संस्कृतिमा जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कला र संस्कृतिको संरक्षणमा पालिका लागिपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले चित्रकलाले संस्कृतिको संरक्षणसँगै देशको पहिचान अन्तर्राष्ट्रियकरण गर्न टेवा पुग्ने बताउनुभयो । ललितकला प्रज्ञा–प्रतिष्ठानको कला प्रवर्धन विभागमा कार्यरत माया लामा घिसिङले रैथाने कलाको खोजी गरी यसको संरक्षण र अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । 

प्रदर्शनीमा राखिएका चित्र बिक्रीमा पनि राखिएको चित्रकार साइँलाले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै जसो चित्र बिक्री पनि भएका छन् । प्रदर्शनीसँगै आम्दानी पनि भएको छ । आफ्नै जन्मथलोमा प्रदर्शनी गर्न पाउँदा खुसी छु ।”