फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २६ गते । गोरखापत्र संस्थान र गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको छ । पत्रकारहरुको क्षमता विकास र पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि संस्थान र प्रेस रजिष्ट्रार कार्यालयबिच सहकार्य हुने भएको हो ।
शुक्रबार संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारी, संस्थानका गण्डकी प्रदेश संयोजक रमेश पौडेल, प्रेस रजिष्ट्रार कार्यालयका उपसचिव निराजन शर्मा र पत्रकार सुरेश रानाभाटबिच सहकार्यका क्षेत्रबारे छलफल भएको छ ।
संस्थानका महाप्रबन्धक ऐरीले देशको पत्रकारिताको आधारस्तम्भ बनेको गोरखापत्र संस्थानलाई सङ्घीयताको मर्म र पाठकको अपेक्षाअनुरुप अघि बढाइएको बताउनुभयो । प्रेस रजिष्ट्रार कार्यालयसँगको सहकार्यले गण्डकी प्रदेशका विकास, निर्माणका गतिविधि र सरकारप्रतिका अपेक्षा र पत्रकारिताको युगानुकूल विकास लागि सघाउने अपेक्षा गरिएको संस्थानका गण्डकी संयोजक पौडेलले सुनाउनुभयो।
उपसचिव शर्माले सहकार्यको मोडालिटी तयार गरी चाँडै यसलाई ठोस रुप दिइने उल्लेख गर्नुभयो । गोरखापत्र संस्थानले अहिले गोरखापत्र राष्ट्रिय दैनिक, द राइजिङ नेपाल राष्ट्रिय दैनिक, गोरखापत्र अनलाइन, राइजिङनेपालडेली डटक, मधुपर्क, युवामञ्च र मुना मासिक प्रकाशन गरिरहेको छ । गोरखापत्र दैनिकमा हरेक प्रदेशका लागि छुट्टाछुट्टै पृष्ठ छन् । साथै ४६ मातृ भाषामा समाचार सामग्री प्रकाशन गर्दै आएको छ ।