राममणि दाहाल
मकवानपुर, मङ्सिर २६ गते । साहित्यकार एवम् गोरखापत्रकर्मी वसन्त पराजुलीको कृति उपन्यास बखानमाथि हेटौँडामा शुक्रबार परिचर्चा भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार पराजुलीको तेस्रो कृति बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो ।
अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गर्दै सरल र वर्णनात्मक तथा विवरणात्मक भाषाको प्रयोग गरी ऐतिहासिक पात्र बखानसिंह गुरुङको जीवनी र त्यससँग सम्बन्धित रहेर ऐतिहासिक उपन्यास लेखिएको बताउनुभयो ।
बखानसिंह चितवनमा बस्ती बसाउन र विकास गर्न अगुवाइसँगै नेपालकै पहिलो सहकारी बखान ऋण सहकारी संस्था चितवनममा स्थापना गर्ने व्यक्ति हुनुहुन्छ । २००७ सालको जनक्रान्तिका एक योद्धासमेत रहनुभएका नेपाली सेनाको क्याप्टेन पदको जागिर छाडेर राणाविरोधी क्रान्तिमा होमिएका बखानले क्रान्तिकै क्रममा दुई छोरासमेत गुमाउनु भएको थियो ।
कुनै विषय र सन्दर्भको भित्री तहसम्म पुग्नका लागि गहिरोसँग व्यक्ति तथा सन्दर्भहरूको प्रयोग गर्ने विशेषता लेखकमा रहेको चर्चा गर्दै समीक्षक निखिलले गुरुङको जीवनका विविध सङ्घर्षमय क्षणहरूको रोचक चित्रणले उपन्यास जीवन्त बनेको बताउनुभयो ।
निखिलका अनुसार चित्रसेन बाबाको मन्दिरको कथादेखि सोमेश्वर गढी र रहेको मन्दिरको कथा, उपरदाङ गढी, देवघाटको प्राचीनताको कथा, चितवन राष्ट्रिय निकुञ्जको स्थापना र यहाँ राजपरिवार तथा विदेशीहरूले शिकारका नाममा गरेको जङ्गली जनावरहरूको शिकारको कथा उपन्यासमा अनुसन्धानमूलक ढङ्गले समेटिएको छ ।
त्यसैगरी, २००७ सालको राणाविरोधी जनक्रान्ति, २०१७ सालमा राजा महेन्द्रले गरेको कु, त्यसपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विद्रोह, पुलिमराङदेखि बन्दीपुरसम्मका तत्कालीन सन्दर्भ, चितवनमा बस्ती विकासका प्रारम्भिक दिनको कथा कलात्मक रूपमा बुनिएको भन्दै उपन्यासको रुप पाएको निखिलले बताउनुभयो ।
उपन्यासमा वर्णनात्मकता र विवरणात्मकता बढी भएका कारण साहित्यिक मिठासको कमी रहेको समीक्षक निखिलको भनाई छ ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले उपन्यासकार पराजुलीले उपन्यास मार्फत आफ्नो मातृभूमि र चितवन जिल्लाका विशिष्ट स्थान तथा ऐतिहासिक सन्दर्भहरूलाई चिनाउने प्रयास गरेको बताउनुभयो । उहाँले उपन्यास सहकारीकर्मी, राजनीतिकर्मीलगायतका लागि पढनीय र सङ्ग्रहणीय बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई र महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले उपन्यासका विविध आयाममाति चर्चा गर्नुभएको थियो ।