• २६ मङ्सिर २०८२, शुक्रबार

‘युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन'

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल।

काठमाडौँ,  मङ्सिर २६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताउनुभएको छ। 

राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि बेवास्ता गर्न नमिल्ने बताउनुभएको हो। 

“अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो। युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ। उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्”, नेपाल सरकारका प्रवक्ता खरेलले भन्नुभयो, “हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ। युवाहरुले चाहेमा २७ घन्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे तर यस पटक जेनजीहरु सरकारमा आउन चाहेनन्। त्यसकारण यो निःस्वार्थ आन्दोलन हो। उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे।”

उहाँले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपूरो हुने भन्दै युवाहरु नेतृत्वमा आउन सक्दैनन्, उनीहरु दास र हनुमान मात्रै बन्ने हुन् भन्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउँदै एउटा नेतालाई ३०–३५ वर्ष उसको दास बनेर युवा बस्न मिल्छ ? भन्ने प्रश्न गर्नुभयो। 

उहाँले नेपाली राजनीतिमा अब युवाको दबदबा हुने भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन। नेपालको अहिलेको वर्तमानले युवा र राजनीतिमा जाज्वल्यमान भविष्य देखाइरहेको छ।”

मन्त्री खरेलले निकट भविष्यमा हुने राजनीतिक दलहरुको महाधिवेशनमा कति युवा आउँछन् ? आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् ? भन्ने प्रश्नले ती दलहरु कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै उहाँले अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने बताउनुभयो। राष्ट्रियसभाका सदस्य एवं जनसङ्ख्या एवं विकासका लागि संसदीय सञ्जालका महासचिव गङ्गाकुमारी बेलवासेले युवालाई समस्या नभई समाधान, ऊर्जा र नवप्रवर्तनका रुपयमा उपयोग गरिनुपर्ने बताउनुभयो।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा  र मिडियाका आयामलाई जवाफदेहितासँग जोडेर काम गर्न सक्नुपर्नेमा जोड दिँदै नीतिगत तहमा युवाको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो। 

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मनिता श्रेष्ठले शिक्षा र रोजगारीमार्फत सक्षम जनशक्तिको सदुपयोग गरेर राज्यलाई बलियो बनाउनुपर्ने बताउनुभयो। 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकाससम्बन्धी निकायका नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहिताका विषयका संवादलाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमाथि पनि भौतिक प्रहार हुनुले मिडियामाथि पनि आक्रोश रहेछ भन्ने बुझेर सामग्रीमा पुनः विचार गर्नुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा डा. जगत नेपाल, लेखनाथ पाण्डे, टीकाराम यात्री र जेनजी प्रतिनिधि राजेन्द्र अधिकारीलगायतले सत्य र तथ्यका आधारमा युवा र मिडियाको अन्तरसंवाद बढाउन आग्रह गर्नुभयो। 

परिषद्का सदस्यसचिव गेहनाथ गौतमले नयाँ परिवेशमा युवालाई समेटेर राष्ट्रलाई दिशाबोध गराउन संवाद गरिएको जानकारी दिनुभयो।