• २४ मङ्सिर २०८२, बुधबार

आमा र बच्चाको रेखदेख गर्न स्वास्थ्य एकाइलाई स्कुटर

blog

अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइलाई स्कुटरको साँचो हस्तान्तरण गरिँदै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मङ्सिर २४ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा २, ५ र ७ सङ्गमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य एकाइलाई स्कुटर प्रदान गरिएको छ ।

घरदैलो गरेर प्रसूति, गर्भवती महिला र नवजात शिशुको रेखदेख तथा बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कर्मा फ्लाइट फाउण्डेसनले स्वास्थ्य एकाइलाई स्कुटर हस्तान्तरण गरेको हो । निसीखोला गाउँपालिका वडा २ देविस्थान वडा कार्यालय र स्वास्थ्य संस्थाको आग्रहमा स्वास्थ्य एकाइलाई स्कुटर प्रदान गरिएको फाउण्डेसनका निर्देशक प्रेम कुँवरले जानकारी दिनुभयो । 

कठिन भूगोलमा रहेको स्वास्थ्य संस्थालाई आवतजावतका लागि सवारी साधन प्राप्त भएपछि मातृशिशु र अन्य बिरामीको घरदैलो गरेर उपचार गर्न सहज हुने वडाध्यक्ष कुविर विश्वकर्माले विश्वास व्यक्त गर्नुभयो । अर्नाकोटमा निसीखोला वडा नं. २ देविस्थान र ढोरपाटन नगरपालिकाका गरी झण्डै तीन सय परिवारको बसोबास छ ।

बर्थिङ सेन्टरका लागि कर्मा फ्लाइट फाउण्डेसनले भवन निर्माण गरिदिएको हो । फाउण्डेसनले २० लाख रुपियाँ सहयोग गरेपछि बनेको भवनमा २५ लाख रुपियाँका उपकरण समेत सहयोग गरेको थियो । दुई जना कर्मचारीलाई फाउण्डेसनले सहयोग गरेको छ । फाउण्डेसनले १० लाख रुपियाँ खर्चेर स्वास्थ्य एकाइमा प्रसूति प्रतीक्षाघर समेत निर्माण गरिदिएको छ । 

सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर सञ्चालन भएपछि ग्रामीण भेगका महिलाले प्रसूतिको बेला पाउने दुःख पनि कम भएको छ । गाउँघरमै सुरक्षित सुत्केरी सेवा पाउँदा बुर्तिवाङ अस्पतालसम्म पुग्नुपर्ने बाध्यता टरेको छ । ‘‘घर छेवैमा खुलेको सुरक्षित सुत्केरी सेवाले खर्च र समयसँगै दुःख पनि कम भएको छ,’’ स्थानीय रमा विकले भन्नुभयो, ‘‘बर्थिङ सेन्टरले ज्यान र पैसा दुबै बचाएको छ ।’’ 

घरपायकमा स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारमा सहज भएको स्थानीय नर्मती रसाइलीले बताउनुभयो । ‘‘पहिला गाउँका धेरै दिदीबहिनीले सुत्केरी हुन नसकेर ज्यान गुमाए’’ रसाइलीले भन्नुभयो, ‘बर्थिङ सेन्टरले धेरै आमाहरुलाई नयाँजीवन दिएको छ ।’ एकाइको तथ्याङ्क अनुसार अर्नाकोट क्षेत्रमा होम डेलीभरी सेवा छैन । 

सामुदायिक स्वास्थ्य एकाइमा सुविधा थपिएपछि ग्रामीण क्षेत्रका सहज रुपमा स्वास्थ्य सेवा पाएको वडाध्यक्ष विकले बताउनुभयो । ‘‘जटिल समस्यामा स्वास्थ्यकर्मीले समयमै सुरक्षित अस्पतालमा रिफर गरिदिन्छन् । बर्थिङ सेन्टर नहुँदा कतिपय महिला जोखिम मोलेर घरमै सुत्केरी हुनुपर्ने बाध्यता अन्त्य भएको छ,’ विकले भन्नुभयो ।