बैङ्कक, मङ्सिर २४ गते । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दालाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनुभएको छ ।
थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समयअनुसार बिहान ५:०० बजेदेखि सुरु भएको आक्रमण बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्रमा भएको र अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ ।
विज्ञप्तिमा बिहान ८:४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम-२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भएपछि बिरामी र कर्मचारीलाई सुरक्षित आश्रयमा सारेको जनाइएको छ ।
थाई मिडियाका अनुसार थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तमा ८०० भन्दा बढी विद्यालय र ठुलो सङ्ख्यामा अस्पताल अस्थायीरूपमा बन्द गर्न बाध्य पारेको छ । कम्बोडिया-थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसोदेखि पुनः सुरु भएको छ भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाउँदै आएका छन् । रासस/सिन्ह्वा